लोकतन्त्रलाई चुनौती दिने अभिव्यक्तको प्रतिवाद गर्नुपर्छ : मुख्यमन्त्री कार्की
- चैत्र १०, २०८१
- 0

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मुलुकको लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनुपर्ने बताएका छन् ।
आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका कार्कीले अहिले सामाजिक सञ्जालमार्फत समाजमा अफवाह फैलाउने काम भएको बताए ।
‘लोकतान्त्रिक शासन प्रणालीलाई पनि चुनौती दिने खालका अभिव्यक्तहरू आउने गरेका छन्’, उनले भने ।
यसका विरुद्ध नेपालका सञ्चार माध्यले एक ठाउँमा उभिएर प्रतिवाद गर्नुपर्ने कार्कीको धारणा छ । अहिले अभियन्ता बनेकाहरूको विगत र उनीहरू अहिले कसरी आएका छन् भन्ने कुरा सञ्चारमाध्यमले राखिदिए नागरिकहरू छर्लङ्ग हुने उनले बताए ।
अरूको गलत ढङ्गले प्रचार गर्न आवश्यक नरहेको बताउँदै कार्कीले जे हो त्यही सत्य सार्वजनिक गरिदिने हो भने लोकतन्त्रको रक्षाका लागि ठुलो योगदान पुग्ने कार्कीले बताए । यो काम प्रेस चौतारी आबद्ध पत्रकारहरूले प्राथमिकताका साथ गर्नुपर्नेमा उनको जोड छ ।
शेरबहादुर देउवा र केपी ओलीको बिचमा मुलुकको ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने, संविधान संशोधनका लागि काम गर्ने सहमति भएको बताउँदै कार्कीले पहिलो बुँदामा राम्रो प्रगति हुँदै गएको बताए ।
‘अहिलेको सरकारले उल्लेख्य राजश्व सङ्कलन गरेको उनको धारणा छ । मुलुकको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याउन अहिलेको सरकार सफल भएको छ’, उनले भने ।
प्रजातन्त्र भनेको छाड हिँड्ने कुरा नभएको बताउँदै कार्कीले सामाजिक सञ्जाललाई नियमन गर्नै पर्ने बताए । कुनै पनि व्यक्तिलाई छाडा बन्नबाट रोक्न सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन आवश्यक रहेको उनको भनाइ छ ।
सरकारले अध्यादेश ल्याउने कुरा पनि संविधानसम्मत कुरा भएको बताउँदै कार्कीले त्यसको आलोचना गर्नुको कुनै अर्थ नभएको बताए । सरकार पूर्ण रूपमा लोकतान्त्रिक बाटोबाट सही दिशामा अघि बढेको उनले प्रष्ट पारे ।