बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा महायज्ञ लगाइने

news-details

बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१ आयोजना हुने भएको छ ।

बिहीबार भक्तपुरको गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रमा पत्रकार सम्मेलनको आयोजना गर्दै मानव कल्याण समाजले महायज्ञबारे जानकारी दिएको हो ।

महायज्ञ चैत्र २१ देखि २७ गतेसम्म मध्यपुर थिमी नगरपालिका ५ राधेराधेमा आयोजना हुनेछ भने कथा वाचन संस्थाका संस्थापक अध्यक्ष देवी सुमी मानवबाट हुनेछ ।

सामाजिक सेवाको पवित्र उद्देश्यलाई आत्मसात गर्दै ‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ प्रचारप्रसार समितिका संयोजक पेशल आचार्यले जानकारी दिए ।

‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ का संयोजक गोपीकृष्ण न्यौपानेले महायज्ञमार्फत सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्ने लक्ष्य राखिएको तथा प्रभावकारी सेवाका लागि जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएकोे जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको संस्थाले बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, काउन्सिलिङ तथा सुधारका लागि विभिन्न प्रयासहरूलाई निरन्तरता दिदै आएको छ ।

केही वर्ष अघिसम्म भक्तपुरका सडक तथा अन्य सार्वजनिक स्थलहरूमा बेवारिसे मानिसहरूको संख्या उल्लेख्य रहेको अवस्थामा संघकै अगुवाइमा व्यवस्थापनको काम हुँदै आइरहेको छ ।

संस्थाको सक्रियता पछि भक्तपुरमा बेवारिसे मानवहरु सडकमा कम हुँदै गएको छ भने सडकमा बेवारिसे फेलापरेकाहरुलाई झौखेलमा अस्थायी बासको व्यवस्था गरि राखिएको छ ।

संस्थाका अध्यक्ष सुमी मानवका अनुसार त्यसअघि २०७२ देखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरिएको थियो । संघले हालसम्म २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी व्यवस्थापन गरिसकेको छ ।

हाल भक्तपुर, काभ्रे, काठमाडौं, बारा र दाङ शाखामा कार्यालय स्थापना गरेर संघले पाँच सय जनालाई आश्रय दिंदै आइरहेको छ । महायज्ञमार्फत सेवाहरूलाई थप प्रभावकारी बनाउने र दिगो व्यवस्थापनकालागि महायज्ञबाट संकलित सहयोग तिनै असहाय सडक मानवहरूको लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गरिने संघका अध्यक्ष मानवले जानकारी दिइन् ।

महायज्ञको मुख्य कार्यक्रम अन्तर्गत चैत्र २१ गते बिहान ७ देखि ९ बजेसम्म पुर्वाङ्ग हुनेछ भने सोही दिन विहान ९ बजे महायज्ञ स्थलबाट शोभाकलश यात्रा हुनेछ । महायज्ञको समुद्घाटन २१ गते दिउँसो साँढे १२ बजे हुनेछ ।

यस्तै, लक्ष्यवर्तिका प्रज्वलन चैत्र २६ र २७ गते तथा समापन चैत्र २७ गते हुने बताइएको छ । महायज्ञ अन्तर्गत बिहान ५ देखि ७ बजेसम्म दैनिक योगाभ्यास, ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ देखि ४ बजेसम्म संगीतमय कथावाचन, सवा ४ बजे आरती तथा साँढे ४ बजे प्रसाद वितरण गरिने छ ।

स्तै दैनिक रुपमा साँझ ६ देख ९ बजेसम्म श्रृङ्गारिक महाआरती सहित सन्ध्याकालिन भजन हुने संघले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *