सुन तस्करीमा ५ वर्ष जेल बसेका थिए २५ करोड बराबरको विदेशी मुद्रासहित समातिएका लामा
- चैत्र ५, २०८१
- 0

काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुशाङ लामा राजस्व छली र सुन तस्करीमा यसअघि ५ वर्ष जेल बसेको खुलेको छ ।
ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकमा लुकाएर राखिएको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रुपैयाँसहित उनलाई गएराति प्रहरीले टोखा नगरपालिका-२ झोरबाट पक्राउ गरेको थियो । लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का हुन् ।
प्रहरीले उनीबाट अमेरिकी डलर र युरो बरामद गरेको हो । गाडीका चालक रहेका उनी एक्लै थिए ।
पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । अमेरिकी डलरसहित पक्राउ परेका लामा रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । २०७३ पुस १३ मा समातिएका लामा ५ वर्ष जेल बसेर २०७८मा रिहा भएका थिए ।