सुर्खेत विमानस्थलमा यतिको सफल परिक्षण उडान
- फाल्गुन २४, २०८१
- 0

यति एअरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परीक्षण उडान गरेको छ । शनिबार यती एअरलाइन्सको ९ एन–एएमएन कल साइनको एटीआर ७२ विमानले सुर्खेत विमानस्थलमा सफल परीक्षण उडान गरेको हो ।
निकट भविष्यमै यति एअरलाइन्सले काठमाडौं–सुर्खेत नियमित उडान गर्ने एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान दिउसो सवा १२ बजे सुर्खेत बिमानस्थलमा अवतरण गरेको थियो । परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाईन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले जहाज उडाएका थिए । परीक्षण उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाईन्सका प्राविधिक तथा प्रतिनिधिहरुको टोली साथमा रहेका थिए ।
यती एअरलाइन्सले निकट भविष्यमा काठमाडौ सुर्खेत नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको जनाएको छ । परीक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने प्रवत्ता बर्तौलाले बताए ।
यती एअरलाइन्सले ७ वटा एटीआर ७२ विमान मार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरु गर्दै आएको छ । निकट भविष्यमा थप विमान मार्फत सेवा बिस्तार गर्न लागेको एयरलाइन्सले जानकारी दिएको छ । यतिको प्रवेशसंगै कर्णालीको राजधानी सुर्खेतबाट दैनिक उडान थपिँदा यात्रुहरुलाई राहत मिल्ने छ ।