प्रकृति लम्साल प्रकरणमा कोशीका सांसदको आवाज, पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थीलाई पढाउने
- फाल्गुन १०, २०८१
- 0

कोशी प्रदेशका सांसदहरूले भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा स्नातक तहमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युका संम्बधमा कोशी प्रदेश सभामा आवाज उठाएका छन् ।
शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद निर्मला लिम्बुले विदेशमा अध्ययन गर्ने विद्यार्थीहरूका सम्बन्धमा कूटनीतिक योजना बनाउन आवश्यक रहेको बताएकी हुन् ।
घटनाका बारेमा चिन्ता जाहेर गर्दै उनले भनिन्, ‘विद्यार्थीहरू जग्गा धितो राखेर पढ्न गइरहेका हुन्छन् । उनीहरूको सुरक्षाका लागि सरकारले के पहल गरिरहेको छ त ?’
यस्तै राप्रपा सांसद गोपाल बहादुर विश्वकर्माले घटनापछि सरकारले कुनै पनि कूटनीतिक पहल नगरेको बताए । आफ्ना देशका विद्यार्थी र परिवारलाई समस्या पर्दा सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ ।
भुवनेश्वरस्थित कलेजको होस्टलेमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल गत आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव भने नेपाल ल्याएर परिवारले दाहसंस्कार गरिसकेको छ ।
यसैबीच पूर्वाञ्चल विश्वविद्यालयले भने अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाइने जनाएको छ । सो प्रकरणपछि भुवनेश्वरस्थित सो विश्वविद्यालयमा पढ्न गएका ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू स्वदेश फर्किरहेको बेलामा पूर्वाञ्चल विश्वविद्यालयले अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाइने जनाएको हो ।
विश्वविद्यालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरूले अध्ययन पूरा नगरी फर्किएको अवस्थामा क्रेडिट ट्रान्सफर गरी पढाइने जनाएको हो । उच्च शिक्षाका लागि विभिन्न देशमा गएर विशेष कारणले अध्ययन पूरा नसकी फर्किनुपरेका विद्यार्थीहरूका क्रेडिट ट्रान्सर्फमर गरिने सूचनामा उल्लेख गरिएको छ ।
स्वदेशमै पुनः आफ्नो अध्ययनलाई निरन्तरता दिई पूरा गर्न चाहेमा विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमहरूसँग मिल्ने विषयको क्रेडिट ट्रान्सफर गरिदिने सूचनामा भनिएको छ ।