पाँच अध्यादेश संसद्मा अगाडि बढाउने सत्ता गठबन्धन दलहरुबीच सहमति
भूमिसम्बन्धी अध्यादेशका बारेमा भने छलफल गर्ने
- फाल्गुन ३, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/satta-dal.jpg)
सत्तारुढ गठबन्धनको बैठकले संसद्मा पुगेका ६ मध्ये पाँच अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव अगाडि बढाउने सहमति गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशका विषयमा छलफल गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि फोनमा संवाद भएको थियो । पाँचवटा अध्यादेश अगाडि बढाउने र भूमिसम्बन्धी अध्यादेशका बारेमा छलफल गर्ने सम्बन्धमा उपेन्द्र यादवसँग संवाद भएको उनको भनाई छ ।
सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, सहकारीसम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, निजीकरण (पहिलो संशोधन) र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष अशोककुमार राई र महामन्त्री मोहम्मद इस्तियाक राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी थिए ।
बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशहरूलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।