आज सिद्धबाबा सुरुङ् मार्ग ‘ब्रेक थ्रु’ गरिदै
- माघ ११, २०८१
- 0
सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम) आज शुक्रबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको हो ।
ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री आउने तय भएको सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए ।
सुरुङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउने तय भएको उनले बताए ।
उनका अनुसार सिदार्थराजमार्ग अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्रमा ११०० मिटर लामो सुरुङ मार्ग ब्रेक थ्रु हुने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकखण्डको सबैभन्दा अप्ठ्यारो मानिएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको काम भै रहेको उनले जानकारी दिए । सुरुङमार्गको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।
चिनियाँ ठेकदार कम्पनीले गरिरहेको उक्त काम सम्पन्न नजिक पुगेको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएको हो ।
सुरुङ् मार्गले गुल्मी,पाल्पा, स्याङ्जा,कास्की, पर्वत लगायतका जिल्लामा सवारीसाधन आवतजावतलाई सहज हुने र सम्भावित दुर्घटनाहरुबाट बच्न सहज हुने विश्वास लिएको छ ।
प्रधानमन्त्री ओलीबाट बुटवल–गोरुसिङ्गे सडक शिलान्यास गर्ने कार्यक्रम छ ।