सुप्रिम सहकारी ठगी प्रकरण : रुपन्देही अदालतमा रवि लामिछानेको थुनछेक बहस आजदेखि

news-details

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजबाट हुने थुनछेक बहसका लागि उपस्थित हुन लागेका हुन् ।

हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेका थिए ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ । आजबाट कानुन व्यवसायीहरू थुनछेक बहसमा सहभागी हुनेछन् ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन लामिछाने आज अदालतमा उपस्थित हुँदैछन् । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो ।

सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरिएको हो ।

लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *