परिणाम न्यून तर ‘प्रयास’ गरिरहेका मन्त्री पाण्डे

news-details

आकांक्षा धामी / बाजुराबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका नेता बद्री पाण्डे देशको ४१ औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् । केपी शर्मा ओली सरकारमा मन्त्री सम्हाल्ने पाण्डे नयाँ अनुहार हुन् ।

राजनीतिमा निरन्तर संलग्न रहँदै आएको झन्डै चार दशकपछि पाण्डे मन्त्री पदमा नियुक्त भएका हुन् । पाण्डेको सत्ता आरोहण अरु मन्त्रीको भन्दा केही विशेष छ ।

२०७९ सालको निर्वाचनमा बाजुराबाट प्रत्यक्ष निर्वाचित उनको निर्वाचन नतिजा नै सहज थिएन । चुनावमा धाँधली भएको आरोपसँगै सो क्षेत्र ‘रणभूमि’ जस्तोमात्रै देखिएन, मतगणनाको लफडाले १२ दिनपछि मात्रै नतिजा आउन सकेको थियो ।

यसरी धाँधली आरोपकै बीचमा निर्वाचन जितेका मन्त्री पाण्डेको मन्त्री पद सम्हालेको एकसय दिनमै आलोचनाको सामना गर्नुपर्यो । उल्लेख्य सकारात्मक कामका बाबजुद पनि पर्यटनमन्त्री पाण्डेको कार्यकाल दोषमुक्त भने छैन् ।

अझै पछिल्लो दिनमा त उनले यस्तो निर्णय गरे, जसले उनलाई ‘अलोकप्रिय’ मात्रै होइन, ‘डबल स्ट्यान्डर्ड’को पहिचानसमेत दियो । त्यो हो–पशुपति गौशाला धर्मशालाको विषय ।

मन्त्री पाण्डेकै नेतृत्वमा बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्बाट पशुपति गौशाला धर्मशाला सञ्चालन गर्न काठमाडौँ महानगरपालिकालाई दिने निर्णय भएको थियो । तर, यो निर्णयमा पर्यटनमन्त्री पाण्डे टिक्न सकेनन् ।

यतिसम्म कि पशुपति धर्मशाला खाली गर्ने निर्णयमा अघिल्लो दिन नै हस्ताक्षर गरेर प्रशासनलाई पत्र पठाएर उनले मन्त्रालयका कर्मचारीलाई यस्तो कार्य रोक्न निर्देशन दिने पत्र लेख्न लगाएका थिए ।

अदालत समेतको आदेशका कारण अहिले यो विवाद टरेको छ । तर, विभागीय मन्त्रीको निर्णय जुन किसिमले अडिग हुनुपथ्र्यो, त्यो चाहिँ देखिएन । पछिल्लो दिनमा त उनीमाथि ‘बिकेको’ आरोपसमेत लाग्यो ।’

त्यसो त अघिल्ला पर्यटनमन्त्रीहरुको तुलनामा उनको प्रश्तुती सन्तोषजनक नै रहेपनि परिणाम सुखद् देखिएको छैन् । सुदन किराँती, प्रेम आले लगायतले गुमेको सरकारी जग्गा फिर्ता ल्याउने मामिलामा जुन साहस देखाएका थिए, यसमा पाण्डेको भूमिका प्रभावकारी देखिएको छैन् । अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्न समेत कठिनाइ भइरहेको बताइन्छ ।

पर्यटनमन्त्री पाण्डेले आफूलाई ‘सस्तो लोकप्रियता कमाउन चाहने मन्त्री’ नभएको र परिणाम देखाउन चाहेको बताइरहेपछि हवाइजहाजको भाडा घटाउने विषय होस् वा भैरहवामा न्यारोबडी उडाउने विषयमा होस्, आधिकारिक निर्णय हुनुअघि नै प्रचार गरेकाले पर्यटन क्षेत्रका व्यक्तिहरुले राम्रो मानेनन् ।

यहीबीच बढेको हवाई भाडादर ‘मिडिल रेञ्ज’मा राख्ने निर्णय गराउन मन्त्री पाण्डे सफल देखिए । भलै यसको कार्यान्वयन भयो कि भएन भन्ने सम्बन्धमा प्रश्न छँदैछन् । हवाइ संचालकहरूलाई ‘कन्भिन्स’ गराएर निर्णय गराउन सक्नुलाई उनको एउटा सफलता मानिएको छ ।

यसैगरी यो वर्ष सरकारले १६ लाख पर्यटक ल्याउने लक्ष्य राखेको थियो, जुन पूरा हुन सकेन । यद्यपि पर्यटक भित्र्याउने विषय बाढी पहिरोका कारण प्रभावित हुँदा पनि मन्त्री पाण्डेले नै दोषी हुन् भन्ने भाष्य सिर्जना गरियो ।

त्यसो त यो अवधिमा उनले धेरै राम्रो काम पनि गरे तर प्रतिफल दिनेगरी भने उनले काम गर्न सकेका छैनन् । पर्यटन सम्बन्धि नीति र ऐन बनाउने प्रक्रियामा उनको सक्रियता तारिफयोग्य रहेपनि अन्य मन्त्रीजस्तै उनको अधिकांश समय उद्घाटन र भाषणमै वितिरहेको छ ।

विशेषगरी पर्यटन विभागबाट क्यासिनोहरुलाई अनुमति दिएको र नेपाल नागरिक उड्डयन प्राधिकरणका गतिविधि र निर्णयप्रति प्रश्न उठिरहँदा मन्त्री पाण्डेको मौनताप्रति धेरै प्रश्न उठाउने गरेका छन् ।

पुस १३ गते मन्त्री पाण्डे बाँकेको नेपालगन्ज स्थित निर्माणधीन विमानस्थलको निरिक्षण गर्न पुगे । अछामको कलम बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गरे ।

सुदूरपश्चिम कलाकार समाजले पुस १५ को अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले सबै समुदायको भाषाको विकास गर्न जोड दिए । उनले सुदूरपश्चिमको भाषा राष्ट्रिय पहिचानको रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै भाषा, साहित्य, संस्कृति र भेषभूषाको प्रवद्र्धनमा कलाकारहरूको भूमिका महत्वपूर्ण रहेको सुनाए ।

उनी पुस १६ गते नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सवमा सहभागी हुँदै उड्डयन क्षेत्रलाई व्यवस्थितका साथै नेपालको हवाई क्षेत्रलाई विश्वसनीय बनाउन आवश्यक ऐन–कानुनको काम भइरहेको जानकारी गराए ।

उनले बिकट स्थानमा नियमित उडानका लागि निगमको विमान पर्याप्त नरहेकाले त्यस विषयमा पनि मन्त्रालयले आवश्यक योजना बनाइरहेको बताए । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुसँगको सहकार्य, नियमन र नेपालको कानुन अनुसार चल्ने वातावरण बनाउने कोसिस भइरहेको धारणा राखेका थिए ।

मन्त्री पाण्डे यहीँ पुस १६ गते मंगलबार नेपाल पर्यटन बोर्डको २६औं बार्षिकोत्सव समारोहमा सहभागी भए । उनले पर्यटन क्षेत्रको प्रसस्तै सम्भावना भएता पनि उपयोग भने गर्न नसकिएको बताए । उनले पर्यटन क्षेत्रमाथि पुग्नको लागि कुरा भन्दापनि परिणाममुखी काम गर्न आवश्यक रहेको बताए । उनले भने,‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना भएता पनि उपयोग गर्न सकेका छैनौ । एकदमै झिनो मात्रामा देशको जिडिपी र स्वरोजगारीमा न्यून योगदान रहेको छ । त्यसैले हामीले भन्ने कथाजस्तो वा पूराण वाचनजस्तो पर्यटन क्षेत्रबाट निकै माथि पुग्छौ भन्ने कुराहरु पटक पटक भन्छौ तर यसको कुनै अर्थ छैन् । यसका लागि हामीले परिणाम ल्याउनुपर्छ ।’

यसैगरी पुस १७ गते अन्तर्राष्ट्रिय किताव प्रदर्शनी मेलाको उद्घाटन गर्न उनी काठमाडौंको भृकुटीमण्डप पुगे । जहाँ उनले आफ्नो मन्त्रालय पुस्तक नीति बनाउने कार्यमा सक्रिय रूपमा योगदान गर्ने बताए ।

उनले भने, ‘पुस्तक प्रर्दशनीले असल मार्गमा डोर्याउँछ । यसले सकारात्मक प्रेरणा प्रदान गर्नुका साथै ज्ञानको मार्गलाई अगाडि बढाउने गर्दछ । नेपालमा हालसम्म पुस्तक नीति समेत बनेको छैन । पुस्तक नीति बनाउने सन्दर्भमा मेरो यथोचित सहयोग रहने छ ।’ मन्त्री पाण्डे पुस १८ गते प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सहभागी हुँदै पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न आवश्यक भएको औंल्याए । उनले पर्यटन संस्कृति नीति र नागरिक उड्डयन सम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गराइसकेको जानकारी पनि गराए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *