वैदेशिक रोजगार व्यवसायी संघले सिफलमा प्रशासनिक भवन खरिद गरेर सार्यो कार्यालय
- मंसिर १९, २०८१
- 0
वैदेशिक रोजगार व्यवसायीहरुको साझा संस्था नेपाल बैदेशिक रोजगार व्यवसायी संघले आफ्नै प्रशासनिक भवन खरिद गरेर कार्यालय स्थानान्तरण गरेको छ ।
संघले बुधवार नयाँ खरिद गरेको भवनमा पुजा तथा रुद्री हवन गरि औपचारिकरुपमा सरेको छ । संघले काठमाडौं महानगरपालिका वडा नं. ७ सिफल चौरको नजिकै पिपलबोटबाट १०० मिटर दक्षिण तर्फ सुविधासम्पन्न भवन खरिदपछि सरेको हो ।
संघले स्थापनाकालदेखि नै आफ्नै भवन खरिद गर्ने सपना देखेतापनि विभिन्न समस्याका कारण खरिद गर्न नसकिरहेको अवस्थामा अहिले सम्पुर्ण व्यवसायीहरुको साथ र सहयोगले आफ्नै भवन खरिद गर्दै सम्पुर्ण व्यवसायीहरुको सपना पुरा गरेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।
नयाँ भवन खरिद गरेर कार्यालयमा सर्दै गर्दा अध्यक्ष भण्डारीले भने–‘३२ वर्षदेखि संघका अग्रजहरुले देखेको सपना आफ्नो कार्यकालमा पुरा गर्न पाएकोमा गर्व महसुश भएको छ ।’
संघलाई आवश्यक पर्याप्त भौतिक सुविधा सम्पन्न भवन, पर्याप्त कोठाहरु, हलहरु २४ सैं घण्टा पानीको सुविधा भएको, उपत्यकाका ३ वटै जिल्लाका व्यवसायीहरुलाई आवतजावत गर्नका लागि सहज हुने प्राइम लोकेसनमा सम्पूर्ण व्यवसायीको अपनत्व महसुस हुने गरि भवन खरिद गरेको संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार) ले बताए ।
भवन खरिदका लागि सम्पुर्ण व्यवसायीहरुको उत्साहजनक उपस्थिती रहेको जनाउँदै उनले संघले लामो समयदेखि देखेको सपना आज पुरा भएको प्रथम उपाध्यक्ष कुमारले बताए ।
६ आना २ पैसा जग्गामा बनेको १९ वटा कोठा, ३२ फिट मोहोडा भएको साढे ३ तले कर्पोरेट भवन खरिद गरि विशेष पुजा लगाई विधिवत् रुपमा बुधवारबाट संघको कार्यालय स्थानान्तरण गर्दा सबै व्यवसायीहरु खुशी भएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए । उनले भने–‘ संघमा निर्वाचित भएर आएका नयाँ कार्यसमिति विचलित भएर संघको अफिस खोज्दै हिड्नु पर्ने समस्याको अन्त्य भएको छ, अव सबै व्यवसायीको संघको अभियानमा साथको जरुरी छ ।’
संघको नयाँ कार्यालयमा बुधवार मेनपावर व्यवसायीहरु प्रसाद ग्रहण गर्न तथा अवलोकन गर्नका लागि उल्लेख्यरुपमा उपस्थित भएका थिए ।
संघले खरिद गरेको भवनका लागि केही व्यवसायीहरुले प्रयाप्त पार्किङ र क्षेत्रफल नभएको भन्दै विरोध गर्दै आइरहेको बेला संघले औपचारिकरुपमा भवन किनेर कार्यालयनै सारेर फड्को मारेपछि चर्चा चल्न थालेको छ ।