रविको लामिछानेको बयान आज पनि जारी
- मंसिर १७, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सोधपुछ र बयान प्रक्रिया अझै जारी छ । शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा निरन्तर बयान लिइँदै छ ।
लामिछानेलाई बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएको थियो । शुक्रबार लामिछानेले करिब साढे ६ घण्टा र हिजो आइतबार झण्डै ५ घण्टा लामो बयान दिएका थिए ।
बयान अझै सकिएको छैन र आज पनि सोधपुछ जारी रहने भएको छ । बयान सकिएपछि उनलाई पोखरा पठाउने तयारी प्रहरीको छ ।
प्रहरीले स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रवि लामिछानेले लाखौं रकम लिएको प्रमाण फेला पारेको छ । दुई कागजातहरू बुझिलिनेको हस्ताक्षर र सहकारीको छाप विहीन छन् । ती कागजातमा चार पांग्रे सवारी कर्जाका लागि ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँको ऋण लिएको उल्लेख छ । उनीहरूले त्यो रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप लागेको छ ।
अहिलेसम्म स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६८० जनाको जाहेरी परेको छ र एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ । मुद्दामा कुल २४ जना प्रतिवादी छन् जसमध्ये छवि लाल जोशी, रवि लामिछाने, रम्तेल, सुनिता नेवा र कमल लामा पक्राउ परेका छन् भने सञ्चालक जिबी राई अझै फरार छन् ।
प्रहरीले जिबी, रवि र छविलगायत व्यक्तिहरूविरुद्ध अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतका विषयमा अनुसन्धान भइरहेको छ । कानुनी व्यवस्थाले प्रहरीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिनसम्म व्यक्तिलाई थुनामा राख्न अनुमति दिएकोले रवि र छविको हिरासत यात्रा लम्बिने देखिएको छ ।
हाल जिबी, रवि र छवि जोशीविरुद्ध काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीहरूमा तीन अर्ब बराबरको रकम ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।