काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौं : मन्त्री सिंह
- मंसिर ९, २०८१
- 0
उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।
आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौं ? भन्दै प्रश्न समेत गरे ।
उनले भने,‘फोहोर मैलामा राजनीतिकरण गरेर त भएन नि । हामीले देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थित गर्न सकौंला त ? प्रश्न आउँछ नि ,यो फोहोरमैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ । चाहे सङ्घीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थनीय सरकार नै किन नहोस् विधिको शासनअनुसार त मान्नु प¥यो नि ,प्रक्रिया अनुसार हामी जान्छौं ।’
उनले फोहोर व्यवस्थापनको विषयमा हुने छलफलको मात्र समाचार बन्ने गरेको भन्दै अब एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला आएको धारणा राखे ।
उनले भने,‘काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नका लागि धेरै समय चाँही गइसकेको छ । स्थानीय निर्वाचनपछि हरेक समयमा पत्रपत्रिकामा समाचार मिडियाहरुमा फोहोरमैलाको बारेमा समाचार पढ्ने गछौं । तर अब चाँही छलफल गरेको मात्र समाचार बन्ने होइन कि एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला भयो ।’