उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्वाचन आयोगले दियो यस्तो निर्देशन

news-details

निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहहरुलाई विभिन्न निर्देशन दिएको छ ।

आयोगले यही मंसीर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्ने गराउने प्रयोजनका लागि उपनिर्वाचन हुने सबै स्थानीय तहहरुलाई निर्देशन दिएको हो ।

जस अनुसार उपनिर्वाचन हुने स्थानीय तहहरूमा निर्वाचन आयोगबाट कायम भएका मतदानस्थल÷केन्द्रहरूको संरचनाको संरक्षण, मर्मत सम्भार एवम् उक्त स्थलमा खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक, पुल पुलेसा, कम्पाउण्ड वाल, तारवार आदिको व्यवस्था र ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न हुन सम्बन्धित स्थानीय तहबाटै कार्यान्वयनको व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।

यस्तै नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधनहरू, सभागृह तथा अतिथिगृह, सवारी साधन, परिवहनका साधन र अन्य विद्युतीय उपकरणहरू मर्मत संभार गरी ठीक दुरूस्त अवस्थामा राख्न र स्थानीय तह उपनिर्वाचनको कामको लागि आवश्यकता अनुसार प्रयोग गर्न सक्ने व्यवस्था गर्न आयोगले भनेको छ ।

स्थानीय तह उपनिर्वाचनको कार्य सम्पादन गर्न स्थानीय तहमा कार्यरत कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने कानूनी व्यवस्था बमोजिम कर्मचारीको विवरण अद्यावधिक गरी राख्ने र निर्वाचन प्रयोजनको लागि माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा रहन पनि आयोगले निर्देशन दिएको छ ।

उपनिर्वाचनमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाई निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्थाका साथै तोकिएको मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरू समेत स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत संभार गरी गराई सुचारू अवस्थामा राख्ने व्यवस्था गर्ने ।

राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य जुनसुकै भौतिक साधन प्रयोग गर्न गराउन पूर्णतः रोक लगाउने व्यवस्था गर्न आयोगले निर्देशन दिएको छ ।

यस्तै आयोगको वेबसाइटमा प्रकाशित निर्वाचन प्रचार–प्रसार सामग्रीहरू यथासम्भव समयमै मतदाता समक्ष पु¥याउने व्यवस्था मिलाउन, आयोगबाट लागू भएको आचारसंहिताको पालना गरी उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहहरूले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटन लगायतका कार्यहरू नगर्ने/नगराउने व्यवस्था मिलाउन, निर्वाचन आचारसंहिता, २०७९ बमोजिम स्थानीय कार्यपालिका तथा सोका पदाधिकारी एवम् स्थानीय तह र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको पूर्ण पालना गर्ने गराउने र कहीँ कतैबाट आचार संहिता विपरित कार्य भए गरेमा कारवाही गरी सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई दिन पनि आयोगले निर्देशन दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *