आज तीज पर्व मनाइँदै

news-details

आज भाद्र शुक्ल तृतीया, हरितालिका तीज पर्व । वैदिक सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले आज बिहानै उठेर स्नान गरि शिव-पार्वतीको पूजा गरी तीज पर्व मनाउँदैछन् । तीजको निराहार व्रत बसेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालयकी सुपुत्री पार्वतीले निराहार व्रत बसी भगवान शिवलाई पतिका रुपमा पाउन सफल भएको भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यस समयदेखि हरितालिका तीजको व्रत लिने परम्परा शुरु भएको धार्मिक मान्यता छ ।

विशेष गरि महिलाले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको दिन व्रत बस्ने गर्दछन् र अविवाहित महिलाले असल र योग्य वर पाउन व्रत बस्ने गर्दछन् भन्ने सामाजिक बुझाइ छ । तर धर्मशास्त्रविद्हरुले अटल सौभाग्यको कामना, सन्तान प्राप्तिका लागि, महिला र पुरुष दुवैले असल वर तथा वधु पाउनका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको बताउँछन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार तीजको दिन निराहार, जलाहार र फलाहार गरी तीन किसिमले व्रत बस्न सकिन्छ । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुने धर्मशास्त्रविद् गौतमको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *