काठमाडौं। हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि भिषण हिमपहिरो खसेको छ ।
शुक्रबार थासाङको कोवाङमाथि धौलागिरि आइसफल नजिकै हिमपहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिमपहिरोले मुलखर्कस्थित बोक्से खोला थुनिएको छ ।
कोवाङको माथिल्लो तटीय क्षेत्रमा माथि हिमपहिरो खसेको अधिकारीले जनाएका छन् ।

वडा नं २ कोवाङ क्षेत्र भएर बग्ने यो नदीको तल्लो तटीय क्षेत्रमा रहेका करिब एक दर्जन परिवार सुरक्षित स्थानमा सारिएको थासाङ गाउँपालिकाका २ का वडाध्यक्ष गौतम शेरचनले रोजगारमञ्चलाई बताए ।
शेरचनका अनुसार हिमपहिरोबाट कुनै मानवीय क्षती नभएतापनि बोक्से खोलाको बहाब भने लगभग थुनिएको छ ।
थुनिएको बोक्से खोला बस्तीबाट टाढा नै रहेतापनि खोला विस्फोट भएमा तटीय क्षेत्रको बस्तीमा असर पुग्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।
थसाङ–२ कोवाङ कालीगडण्की खोलाको किनारामा अवस्थित वडा हो। उक्त वडामा १५२ घरधुरी रहेका छन्। त्यहाँको जनसंख्या कुल ६१६ छ। यो क्षेत्रमा प्रहरी चौकी र प्रहरी चेक पोष्ट समेत छन्।
यसअघि पनि २०७८ साल कात्तिक २८ गते सोही क्षेत्रमा हिमपहिरो खस्दा थासाङ क्षेत्रमा ठूलो भौतिक सम्पत्तिको क्षति भएको थियो। त्यस्तै खर्कको चरनक्षेत्रमा रहेका ठूलो संख्यामा याक, चौरी समेत मरेका थिए ।
केही दिनयता त्यहाँ परेको निरन्तर वर्षाका कारण पहिरो गएको स्थानीयको भनाइ। हिउँ पग्लेर बाह्रैमास बग्ने यो खोलामा अरु खहरेहरू पनि मिसिने भएकाले झन् ठूलो बाढी आउँन सक्ने उनीहरू बताउँछन्।
ध्यान बसेका लामाले गाउँले जोगाए
धौलागिरी हिमश्रृङ्खलामा हिमपहिरो जाँदा त्यसबाट बग्ने एउटा खोला थुनिएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको माथिल्लो तटीय क्षेत्रमा माथि हिमपहिरो खसेको स्थानीयले जनाएका छन् ।
वडा नं २ कोवाङ क्षेत्र भएर बग्ने यो नदीको तल्लो तटीय क्षेत्रमा रहेका करिब एक दर्जन परिवार सुरक्षित स्थानमा लगिएको छ। यहाँका वडाअध्यक्ष तथा थासाङ गाउँपालिकाका प्रवक्ता गौतम शेरचनका अनुसार धौलागिरी हिमश्रृङ्खलाको हिउँ पग्लेर बग्ने यो बोक्से खोलाको बहाब लगभग थुनिएको छ।

उनका अनुसार केही दिनयता त्यहाँ वर्षा भइरहेको थियो। मुस्ताङका सबैभन्दा धेरै पानी पर्ने क्षेत्र पनि हो हो। खासगरी हिउँ पग्लेर बाह्रैमास बग्ने यो खोलामा अरु खहरेहरू पनि मिसिन्छन् र झन ठूलो बाढी आउँछ।
खासगरी हिमालपारिको जिल्ला भनेर चिनिने यो मुस्ताङमा निकै कम पर्छ। तर धौलागिरी हिमालको छेउमै रहेको कोवाङ क्षेत्रमा भने धेरै पानी पर्छ। धौलागिरी वेशक्याम्प यही क्षेत्रमा पर्छ।
उनका अनुसार हिमालको छेउमा बौद्ध धर्मावलम्बीहरूको धार्मिक क्षेत्र छ। त्यहाँ रहेको एउटा गुफामा एकजना ‘सिक्किमे’ लामा लामो समयदेखि ध्यान गरेर बसिरहेका छन्। उनैले गाउँका मानिसलाई खोला थुनिएको बारे जानकारी दिएका थिए।

‘यसबारे हामी कसैलाई जानकारी थिएन। दिउँसोतिर खोला थुनिएको रहेछ। केही धमिलो र लेदोसहितको पानी पनि बग्न थाल्यो। हिमपहिरो गएको नजिकै एउटा गुफामा ध्यान गरेर बस्ने लामाले त्यो थाहा पाएछन् र वरिपरिकालाई खबर गरिदिए’ वडाध्यक्ष शेरचनले भने ‘दिउँसोको समय थियो। हामी माथि पुगेर हेर्दा पहिराले खोला थुनिएको देख्यौं।’
उनका अनुसार खोलाको बहाव क्षेत्र बाक्लो बस्तीदेखि धेरै टाढा छ। छेउछाउमा रहेका केही परिवारलाई भने सुरक्षित स्थानमा लगिएको उनले बताए। उनका अनुसार केही वर्षयता हिमश्रृङ्खलाहरूमा निकै कम हिउँ छ। त्यसमा पनि अहिले तापक्रम बढिरहेको छ। तर बाह्रैमास हिउँ पग्लिरहन्छ।
‘अहिले हिउँ नै परेको छैन। अलिअलि भएको पनि पग्लिन थालेको छ। बैशाखमा पनि हिउँ पग्लिएर बाढी आउँछ। हिउँदमा पनि कहिलेकाहिँ त हिउँ पग्लिएर बाढी आएको हामीले थाहा पाएका छौं’ उनले भने।
हिमतालको उच्च जोखिम
विज्ञहरूका अनुुसार जलवायु परिवर्तनको असर नेपालका हिमाली क्षेत्रमा देखिन थालेको छ। नेपालका हिमतालहरू जतिवेला पनि फुट्न सक्ने विज्ञहरूले चेतावनी दिइरहेका छन्। विश्वव्यापीरुपमा बढ्दै गइरहेको तापमानले नेपालका हिमालहरू लामो समयदेखि तातिइरहेका छन्। सामान्य मौसममा पनि ‘माइनस’ तापमानमा हुने यी अग्ला हिमाली भेगहरू आजभोलि १५–१६ डिग्री तापक्रममा हुन्छन्। खासगरी हिमनदी बढ्ने वा हिमतालहरू पग्लिने भनेकै यही तापक्रमले नै हो।

हिमनदीको पानी जमेर बनेका तालहरू पग्लिँदा त्यहाँ पानीको आयतन बढ्दै जान्छ र त्यसले थप भूभाग खोज्दै जान्छ। जसले तालका घेराहरू तोडिदिन्छ। त्यसैलाई हामीले हिमतालको ‘विष्फोट’ भन्छौं। र त्यसले तल्लो तटीय क्षेत्रमा बाढी बनेर क्षति पु¥याउँछ।
केही दिनअघि थामेमा पनि यही भएको थियो।
‘तातो बढेको छ। लामखुट्टेहरू हिमाल चढेको कहानी त सुन्नुभएकै होला। तापक्रम बढिरहेको छ। अनि हाम्रा हिमाल, हिमनदी र हिमतालहरू पनि पग्लिइरहेका छन्। यो भविष्यका लागि पनि निकै जोखिम हो भनेर हामीले सरकारलाई धेरै पटक भनिसकेका छौं’ अधिकारी भन्छन् ‘थामेमा भएको पनि यही होला। यसैलाई हाम्रा राष्ट्रसंघका महासचिवज्यूले पनि जलवायु परिवर्तनको असर भोग्न तयार हुनुपर्छ भन्नुभएको थियो।’

अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले क्षतिपूर्ती पाउने माग गर्दै आइरहेको छ। अघिल्लो वर्ष यूएईको दुबईमा भएको कोप सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताएका थिए। कोप सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु प्रेरित प्रकोप र अन्य प्रभावले पर्वतीय जीवनशैली प्रभावित भएको बताएका थिए।
‘हाम्रा सचेत र व्यवस्थित प्रयासको परिणामस्वरूप कोप–२८ ले एकीकृत प्रतिक्रियाको लागि पर्वतीय पारिस्थितिक प्रणालीलाई महत्त्वपूर्ण रूपमा मान्यता दिएको छ,’ त्योबेला प्रचण्डले भनेका थिए। उनले पर्वतीय मुद्दाहरूलाई अगाडि बढाउन एवं पर्वत र यसको परेका लागि दिगो समाधान खोज्नका लागि विश्वव्यापी सहमति र समर्थनको लामो यात्रा तय गर्नुपर्ने आवश्यकता औँल्याए।
‘यो विज्ञ संवाद केवल एउटा कार्यक्रम मात्र होइन। यो एक रणनीतिक पहल हो,’ प्रचण्डले भनेका थिए, ‘यसले जलवायु परिवर्तनको सन्दर्भमा पर्वतमा आधारित कार्यहरूलाई सुदृढ, समन्वय र प्राथमिकता दिन र युएनएफसिसिसी पर्वतीय कार्य कार्यक्रम र आदेशहरूमा सहयोग गर्न पर्वतीय देशहरू र एजेन्सीहरूलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।’








