राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई एमालेको माग

news-details

नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ ।

आइतवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट रुपमा अल्पमतमा परेकाले आजै अविलम्व राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिएको हो ।

यता प्रधानमन्त्री दाहालले भने आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन । काँग्रेससँगको सहमति अनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उसले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्व गर्न नहुने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीले राजीनामा नदिइ विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तिब्रता दिने काममा सहयोग गरेको निस्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई पनि धन्यवाद दिएको छ ।

प्रमुख सचेतक बर्तौलाले भने,‘ काँग्रेससँगको समझदारीलाई संसदीय दलले स्वागत गरेको छ । र यस महत्वपूर्ण प्रक्रियामा सहभागी भएर अर्थात मुलुकलाई स्थायित्व, स्थिरता दिनेतर्फ, विकास, समृद्धि र सुशासनको बलियो स्थिर सरकार बनाउने प्रक्रियामा नेपाली काँग्रेसले जुन महत्वपूर्ण भुमिका निर्वाह ग¥यो । यसप्रति नेकपा एमालेको यस संसदीय दलको बैठकले नेपाली काँग्रेसलाई धन्यवाद दिने निर्णय गरेका छौं । त्यसैगरी यो सरकारलाई दिएको समर्थन नेकपा एमालेलगायतका विभिन्न राजनीतिक दलहरुले दिएको समर्थन फिर्ता गरिसकेपछि यो सरकार स्पष्ट अल्ममतमा परेको छ ।’

त्यसैगरी एमालेले काम चलाउ अवस्थामा पुगेकाले सरकारलाई कुनैपनि निर्णय नगर्न पनि सचेत गराइएको प्रमुख सचेतक बर्तौलाले बताए । पार्टीका सांसद आस्मा चौधरीकी पति लौटन चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै त्यसमा देखिएको आशंका निवारण हुनेगरी छानविन गर्न पनि नेपाल प्रहरीलाई अनुरोध गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *