यातायात सुधार सुझाव कार्यदलले बुझायो प्रतिवेदन

news-details

यातायात सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बिहीबार प्रतिवेदन बुझाएको हो ।

मुलुकका सडकको अवस्थाअनुसार रुट निर्धारणदेखि सवारी क्षेत्रमा बिमा र सुरक्षाका लागि अपनाउनुपर्ने नीतिबारे प्रतिवेदनमा सरकारलाई सुझाव दिइएको छ । एक वर्ष लगाएर तयार प्रतिवेदन १९९ पृष्ठको छ ।

कार्यदलको प्रतिवेदन बुझ्दै मन्त्री ज्वालाले मन्त्रालय र यातायत व्यवस्थापन विभागले अध्ययन गरेर कसरी कार्यान्वयनको कार्ययोजना बनाउने बताए ।

‘यसलाई अध्ययन गरेर के के विषयलाई कसरी कार्यान्वयन गर्ने भन्ने कार्ययोजना बनाउनु पर्ने छ, त्यसमा हामी लागेका छौं,’ उनले भने ।

मन्त्री ज्वालाले सार्वजनिक सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्ने विधेयक अगाडि बढाउन लागेको जानकारी सञ्चारकर्मीलाई दिए । ‘ड्राफ्ट पनि तयार भइसकेको छ । विज्ञ र सरोकारवालाहरुसँग छलफल पनि भइसकेका छन्,’ उनले भने, ‘यातायात सम्बन्धी हाम्रो राष्ट्रिय नीति पनि तयार हुँदैछ, त्यो नीतिलाई समृद्ध बनाउनको लागि पनि यो प्रतिवेदनले सहयोग गर्छ ।’

सार्वजनिक यातायात सम्बन्धी विधेयक चालु महिनाभित्रै संसद सचिवालयमा बुझाउने प्रतिबद्धता उनले जनाए । सार्वजनिक सवारी तथा यातायात व्यवस्था सम्बन्धी विधेयकलाई अझै समयानुकूल, व्यवस्थित गर्नका लागि कार्यदलको प्रतिवेदनले सहयोगी हुने उनले बताए ।

‘यातायात क्षेत्रमा जनतालाई सुशासन, सहज सुविधा कसरी दिने र विश्वासिलो कसरी बनाउने भन्ने कुरा नै हाम्रो मुख्य केन्द्रविन्दु हुन्छ,’ उनले भने, ‘त्यसकारण यो प्रतिवेदनलाई कार्यान्वयन गर्नको लागि ढिलाइ गर्ने छैनौ । यसलाई छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *