बरिष्ठ विमान परिचालिका (फ्लाइट एटेण्डेन्ट) ओम्निका डंगोलले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउण्ट एल्ब्रसको सफल आरोहण गरेकी छन् ।

उनले आइतबार बिहान रुसी समयअनुसार ६ः१५ बजे ५ हजार ६ सय ४२ मिटर अग्लो माउण्ट एल्ब्रसको आरोहण गरेकी हुन् । उनले अर्की आरोही फुर्पा शेर्पा र पर्वतारोही तथा माउण्टेन गाइड चतुर तामाङका आरोहण गर्न सफल भएकी हुन् ।

उडान परिचारिका डंगोलले यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरिसकेकी छन् । विश्वका अरु अग्ला हिमालहरु आरोहण गर्ने अभियानमा रहेकी डंगोलले सगरमाथा चढ्नुअघि लोबुचे, मेरा र आइलन्ड पिकहरुको सफल आरोहण गरेकी थिइन् ।

माउण्ट एल्ब्रस आरोहण गर्ने पहिलो विमान परिचालिका बनिन् ओम्निका डंगोल

सगरमाथा आरोहण गर्ने पहिलो विमान परिचालिकाको रुपमा आफ्नो नाम लेखाउन सफल भइसकेकी डंगोलले बाँकी पाँच महादेशका सबैभन्दा अग्ला हिमालहरु पनि चाँडै आरोहण गर्ने योजना बनाएकी छन् ।

निजी क्षेत्रको उड्डयन सेवा हिमालय एयरलाइन्समा विगत आठ बर्षदेखि कार्यरत डंगोल सामाजिक सेवामा आफुलाई समर्पित बनाउने लक्ष्य लिएकी छिन् ।