वर्तमान समयमा अर्थतन्त्र अफ्ठयारो परिस्थितिमै छ । यो कुरा ध्रुव सत्य हो तर, विश्व अर्थव्यवस्थामा यो नै पहिलो सङ्कट भने होइन । विज्ञहरुको भनाइ अनुसार यो पुँजीवादले उत्पन्न गरेको सङ्कट हो । यस्तो सङ्कट आउन थालेपछि मानिस माक्र्सका कृति पुँजी पढ्न थाल्छन् । पुँजीवादी व्यवस्थामा पुँजीपतिले बढी मुनाफा गर्न लालयित भएर अधिक वस्तु उत्पादन गर्ने गर्दछन् तर, बजारमा मानिसको क्रयशक्ति कमजोर भएपछि उत्पादित वस्तुको मागमा कमि आउँछ र बिक्री कम हुन थाल्दछ । वस्तुको मागमा कमी भएपछि उत्पादित वस्तु सडेर तथा गलेर खेर जाने अवस्था सिर्जना हुन्छ । फलतः यसले पनि सङ्कट उत्पन्न गरिदिन्छ ।

गाउँमा सडक, खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्यचौकीलगायत अनेक समस्या थियो । त्यो समय गाउँभरि मान्छे थिए, बस्थे । अहिले गाउँका घर आँगनमै सडक पुगेको छ । खानेपानी छ । विद्युत् तथा विकासका नयाँ–नयाँ संरचना धमाधम निमार्ण भइरहेका छन् तर, गाउँमा बस्ने मान्छे छैनन् । बसाई सराइको डरलाग्दो अवस्थाले शहर त भरियो भरियो । फेरि, शहरबाट विदेश पस्ने ताँती बयान गरी साध्य छैन, भएन । रित्तिदो गाउँ बृद्घ, असक्त र बालबालिका बस्ने थलो भयो । साँच्चै, यतिबेला गाउँमा मलामी जाने मानिस भेटिदैनन ।
वर्तमान समय सामान्य मानिसलेसमेत अर्थतन्त्रको मन्दी अनुभूत गर्दै पीडा भोग्दैछन् । स्थानीय उत्पादनलाई बेच्ने अनि नुन, तेल, मसला, लुगाकपडा किन्ने त्यो बजारमा हिजोआज चहलपहल छैन । निराशामय वातावरण छ । चोक बजारमा बसेर व्यापार व्यवसाय सञ्चालन गर्न लिइएका सटर भाडा तिर्न नसकेर बन्द भएका छन् । फुटपाथ व्यापारी पनि खोइ कहाँ गए ?

विश्वभरि सन्त्रास फैलाउने कोरोना कहरले सबैलाई हायल कायल बनाएको बेला तमाम नागरिकको काम तथा जिम्मेवारी खोसियो । ज्याला आउने बाटो मेटियो । त्यसको प्रत्यक्ष असर फेरि एकपल्ट नागरिकले गाँस, बास र कपासको जोहोमा उत्रनुको विकल्प भएन । हो, रोग र भोकसँग सङ्घर्षरत नेपालीले राज्यले आफ्ना समस्या सम्बोधन गर्दिए हुन्थ्यो भन्ने आशा/अभिलासा राख्नु नाजायज हो ? कदापि होइन । तर, नेताले दिने भनेको आश्वासन मात्रै रहेछ । राज्य भनेको अभिभावक हो । तर, नेतृत्व तहले नागरिकका समस्या समाधान गर्लान् भनेर सोच्नु, विचार विमर्श गर्नु बेकार सावित भैरहेको छ । नत्र आफैँलाई आगो लगाएर नास गर्ने दिन आउने थिएन । वर्तमान समयको वास्तविकता यही हो ।

ढुङ्गा माटो खान नमिल्ने । अहिले काम गरेर भरे गर्जो टार्ने परिवार कति छन् ? । पुर्खाको सम्पत्ती संरक्षण गर्नु पर्छ भन्ने मान्यता छ, यद्यपि प्रमिला बुढाथोकीका परिवारले गाउँ छाडेको डेढ दशक हुन लाग्यो । उनले पढेकी छैनन् । शिक्षाको त्यो पाटोबारे उनि भन्छिन्, आफ्नो नामसम्म लेख्न आउँछ । त्यो पनि छोराछोरीले सिकाएका हुन् । नत्र कसरी जान्नू ? हाम्रो पालाको समय अर्कै थियो । अर्कै जमाना थियो । त्यसमाथि गाउँको बास । त्यो बेला छोरीलाई पढाउने चलन थिएन । छोरालाई पढाउथे । अहिले सोच्दा, थकथक लाग्छ । आफूले नि पढ्नु पर्ने रहेछ । लेख्नु पर्ने रहेछ तर, बेलामा बुद्घि पुगेन ।

किसानका घरमा हुर्कने बालबच्चाको काम घाँस काटो । दाउरा बोको । बारी खनो । मेलापर्म धायो । गाईवस्तु गोठालो गरो । पँधेराबाट पानी ल्यायो, अरु के गर्नु ? घरमा भएसम्मको सर्जाम भान्सामा जे पाक्छ, कपाकप खायो अनि मेलामा भिडो । भेटेको बेला नखाई नाकनिक गर्न थाल्दा पाएको भाग गुम्ने डर । हो, नेपालीमा उखानै छ नि, काम साचे आफूलाई खाना साचे अरुलाई । अन्न फलाउन खेतबारीमा काम नगरे के खानु ? अहिले जस्तो गाउँमा बजार पुगेको थिएन । हाट लाग्थ्यो । त्यता धाउन भनेपछि उधुम रहर हुन्थ्यो । त्यो दिन कहिले आउँला ? भनेर औँला भाँचिभाँचि गनिन्थ्यो ।

प्रमिला भन्छिन्, रामेछाप मेरो माइती । काभ्रेपलाञ्चोक जिल्ला कोशीपारी चौरीदेउराली घर । १८ वर्षको उमेरमा बिहे भयो । मागी बिहे । रातिको बिहे दिनभरि हिँडेर घर पुर्याए । विधिपूर्वक बेहुली भित्राए । घरमा बुवाआमा (सासु ससुरा) को इच्छा विपरित चल्न जानिएन । मेरा दुईटै बच्चा गाउँमा जन्मेका हुन्, घरैमा । त्यतिखेरको समय अस्पताल जाने वा स्वास्थ्य चौकी धाउने, चलनै थिएन । आर्थिक भए पनि नभए पनि ।

हरेक कुरा आखिर समय रहेछ । देश अनुसारको भेष, यसकारण बदलियो परिवेश । मसिना भुरा बढ्दै गए । आफू अनपढ भए पनि उनीहरुलाई त पढाउनु पर्यो तर, कहाँ, कसरी ? गाउँमा स्कुल नभएपछि के गर्नु ? त्यही बेला एउटा अठोट गरेर राजधानी छिर्यौँँ । ओत लाग्नु नै परेपछि किन गाछी रोज्नु ? ठूलो रुख नै ठीक । संसारमा जायजेथा, सम्पत्ति भन्दा ठूलो शिक्षा रहेछ । हो, जीवनको त्यो उज्यालो पढेका मानिसलाई हेर्दा/देख्दा महसुस भयो ।

हामी आमाछोरी बाउछोरा गरेर चार जनाको परिवार छौँ । सासु–ससुरा गाउँमै हुनुहुन्छ । निरोगी हुनाले अहिलेसम्म रमाएरै बस्नु भएको छ । बूढा ससुराकै पालामा जोडेको जमिन थुप्रो छ, तर सकेको जग्गामा मात्र खेती गर्नुहुन्छ । काम लगाउन गाउँमा मान्छे पाइदैनन् । यताबाट धाऊ साध्य हुँदैन । हामीले खर्च पठाउछौँ । आवश्यक औषधी पठाउछौँ । पारिवारिक भेटघाटका लागि हरेक वर्ष दशैँमा घर जान्छौँ । पढ्ने छोराछोरीलाई यताउता गर्दा ध्यान बिगे्रला भन्ने डर । त्यही पढाइकै लागि भनेर यति दुःख गर्नु छ, वातावरण दिन सकिएन भने के काम ?

अहिले छोराले १२ कक्षा सको । छोरीले एसईई दिएकी छन् । सानै कक्षादेखि नानीहरुलाई बोर्डिङ नै पढायौँ । स्कुलबाट उत्रिए तर, उप्रान्तका दिन कसरी कट्छन् ? भविष्यबारे केही थाहा छैन । जति ठूलो कक्षा उती नै बढी खर्च । कसरी धान्नू ? आम्दानीको स्रोत बढाउन छोरो ’सीप सिकेर विदेश जान्छु र काम गर्छु’ भन्छ । एक मनले सोच्दा पठाउँ भन्ने लाग्छ । अर्को मन पढाइ नसकि केको काम ? पर्दैन, सजिलो हुँदैन जस्तो लाग्छ । कसरी सम्झाउँ ? मन दुविधामा छ, पुनः सम्झन्छुँ, बोडिङको पढाई । टाठै छ, आँटेको गर्छ, किन रोकौँ ? फेरि सम्झ्यिो, घुमिफिरि रुम्जाटार भने जस्तो पैसाकै कुरो आउँछ । साँच्चै बाहिर जाने नै भयो भने कुन देश पठाउनु ? प्रक्रियागत खर्चको जोहो कहाँ खोज्नु, कता ऋण काड्नु ?

यतिखेर व्यापार छैन । बल्लतल्ल चार सयको चटपटे बिक्री हुन्छ । यही गाडा हो, दैनिक हजारको बिक्री हुँदा तीन सय फाइदा हुन्थ्यो । घरायसी कामबाट कमाएको पैसाले खान पनि पुग्दैन । अहिलेको बजारभाउँ कुरै नगरौ, कुनै चिज सस्तो छैन । ११ हजार त कोठा भाडा मात्रै तिर्नु पर्छ । साथै, एउटा परिवार सञ्चालन गर्न अरु कति कुरा आवश्यक पर्छ ? त्यसको लेखाजोखा नै छैन ।

मेरो बुवा रोगी हुनुहुन्छ । महिनामा छ हजारको औषधी किन्नु पर्छ । माइतमा दाजुको जागिर छैन । उहाँ रामेछापमै खेतीपाती गर्नुहुन्छ । हामी काठमाडौंबासी दिदीबहिनीले आलोपालो बुवालाई औषधी पठाउछौँ । उहाँलाई पिसाव सम्बन्धी रोग छ । सुगर, दम, मुटुमा पनि समस्या छ । दुई सालको जन्म अब त बूढो पनि हुनुभयो । लाग्छ, संसारमा सबैथोक पाइन्छ तर जन्म दिने बुवाआमा पाइदैन । हो, यस हिसाबले म गर्भ गर्छु । ज्यालादारी काम भएपनि आफ्नो श्रमको पसिनाबाट जन्मदाताको सेवा गर्न सकेको छु । अवसर नछोपी बस्नु हो भने यो मौका पाउने थिएन ।

मेरो श्रीमान् रङ्ग लगाउने काम गर्नुहुन्छ तर, उहाँको काम टुङ्गो हुँदैन । कहिले लगातार खटाइ पर्छ त कहिले महिनौँ खाली बस्नु पर्छ । उहाँ जुवातास खेल्नु हुन्न । चुरोट रक्सी पिउने बानी भएपनि कहिलेकाही खादा लडाइ झगडा नगरी चुपचाप सुत्नु हुन्छ । बच्चाहरु हुर्के । अभिभावक भएर नराम्रो बानी गरे उनीहरुले सिक्लान् भन्ने डर छ । यो भय सबै अभिभावकमा हुनुपर्छ जस्तो लाग्छ । तव न घर घर जस्तो हुन्छ ।

बिहानदेखि काममा हिँड्यो । दैनिक एकचोटीका दरले चार घरमा ध्यावन्ती सकेर तीन बज्दा गाडा व्यापारमा निस्कनु पर्छ । अनि, साँझ ७ बजेसम्म चटपटे बेचेर कोठा पुग्छु । नियमित कामले शहरमा घर घडेरी जोड्न नसके पनि दुःखसुख खान लगाउन पुगेको छ । व्यवहार गर्न असजिलो परेका बेला ग्रामिण स्वास्थ्य महिला समुहबाट ऋण निकाल्ने गरेको छु । धेरै होइन, एक लाखसम्म । बढी लियो भने कसरी तिर्नु ? नेपालीमा उखानै छ नि, घाँटी हेरेर हाड निल्नु, कि होइन ?

श्रीमान् तीन वर्ष मलेशिया बसेर नेपाल फर्कनु भएको हो । गाउँमा मलिलो जग्गा भए पनि छोराछोरी पढाउन भनेर काठमाडौंबासी बन्यौँ । हामीनै शहरिया भयौँ, अब हाम्रा छोराछोरी यतैको रसमा हुर्के, बढे र बानी परे । रहदा बस्दा विदेश जालान् । यो अर्को कुरा भयो तर, यहीँ देशमा केही गर्छु भन्ने नागरिकका लागि खै वातावरण ? छैन । जति घडी बित्यो, झन्–झन् चर्को लाग्छ यो समय । यही हिसाबले भावी पुस्ताको मार्ग प्रसस्त होइन, अझ साँघुरो भएको छ । हे भगवान् ! यो देशमा हामी जस्ता श्रमशील जनताले सरकारको छहारीमा छौँ भनेर गर्व महसुस गर्ने दिन कहिले आउँला ?