नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष अध्यक्ष कैलाश खड्काको स्वास्थ्य संस्था अनमोल मेडिकल सेन्टरको अनुगमन गरेका छन् ।

मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको अनुगमन गर्ने क्रममा सिनामंगलमा खड्काले संचालन गर्ने अनमोल मेडिकलको निरीक्षण गरेका हुन् । मलेसिया जाने कामदारले मलेसियाले तोकेका ३६ वटा संस्थाबाट मात्र मेडिकल जाँच गर्नु पर्ने हुन्छ । त्यसमध्येको अनमोल एक हो ।

मलेसिया सरकारको विदेशी कामदार केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस)सँग जोडिएको प्रणाली उक्त ३६ वटा स्वास्थ्य संस्थाले प्रयोग गर्दछन् ।

मलेसियाका गृहमन्त्री इजमाइलले गुणस्तरीय स्वास्थ्य परीक्षणमा मलेसिया सरकारको जोड रहेको बताउँदै गृह मन्त्रालयले आवश्यकता अनुसार स्वास्थ्य परीक्षण केन्द्रको अनुगमन गर्न टोली पठाउने बताएका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलास खड्काले गृहमन्त्री इजमाइललाई अनमोल सेन्टरमा स्वागत गर्दै कामदारको गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न मलेसियाका स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेको बताए ।

मलेसियाका गृहमन्त्री महासंघको अध्यक्ष खड्काको स्वास्थ्य संस्था अनमोलमा
मलेसियामा पुगेपछि मेडिकल अनफिट हुनेको संख्या बढेको भन्दै मलेसियाले स्वास्थ्य मापदण्ड बनाई २०१४ देखि स्वास्थ्य परीक्षणमा कडाइ गर्दै आफैंले नेपालमा स्वास्थ्य संस्था छनौट गरेको हो । नेपालमा स्वास्थ्य परीक्षण पास भएको रिपोर्टलाई सिधै मलेसियाको सिस्टममा अपलोड गरेपछि मात्रै भिसा जारी हुन्छ जसले गर्दा मलेसिया पुगेर स्वास्थ्य परीक्षण फेल भएर फर्कनु पर्दैन ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम सम्झौतापछि दुई देशका गृह, श्रम, परराष्ट्र र कानुन मन्त्रालयका उच्च अधिकारीहरू संलग्न दोश्रो संयुक्त प्राविधिक बैठकले नेपालमा कामदारले स्वास्थ्य परीक्षण गर्न लागेको खर्च मलेसिया पुगेपछि पहिलो महिनामा रोजगारदाताले सोधभर्ना दिने निर्णय गरेको थियो ।