श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्रीबीच भेटवार्ता, श्रम सम्झौता नविकरण र कामदारको सेवासुविधाबारे छलफल

news-details

नेपाल भ्रमणमा आएका मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच काठमाडौंको एक होटलमा भेटवार्ता भएको छ ।

नेपालीको प्रमुख रोजगार गन्तव्य देश मलेसियाका गृहमन्त्री इजमाइलको नेतृत्वमा रहेको मलेसियन उच्चस्तरीय भ्रमण टोलिसँग नेपालका श्रममन्त्री अर्यालको नेतृत्वमा करिव डेड घण्टा छलफल भएको हो । नेपाल र मलेसियाबीचकोे काठमाडौंमा भएको यो उच्चस्तरीय श्रम बैठक हो ।

छलफलका क्रममा नेपाल मलेसिया श्रम सम्झौता नविकरण, नेपाली कामदारको अधिकार, सुरक्षा, अवसर विषय प्रमुख बनेको श्रममन्त्री अर्यालका नीजि सचिव पुन्य भण्डारीले रोजगार मञ्चलाई जानकारी दिए ।

बैठकमा नेपालको तर्फबाट गृह सचिव विनोदप्रकाश सिंह, परराष्ट्र सहसचिव लोकबहादुर थापा, निमित्त श्रमसचिव डण्डुराज घिमिरे, सहसचिव रामचन्द्र ढकाल, वैदेशिक रोजगार विभागका प्रमुख उमाकान्त आचार्य लगायतको टोली सहभागि रहेको थियो । मलेसियाको तर्फबाट नेपालका लागि मलेसियाली राजदूत मोहमद फाजिल अबु हसन र मानव संशाधन मन्त्रालयका प्रतिनिधिहरु रहेका छन् ।

मलेसियाले तुरुन्तै पाँच लाख कामदार लैजाने नीति लिएपछि मलेसियाका गृहमन्त्री काठमाडौं आएर छलफल गर्दा नेपालले तत्काल श्रम सम्झौता नविकरण गर्नु पर्ने, नेपाली कामदारको पारिश्रमिक बृद्धि र थप अधिकारसहित दक्ष र अर्धदक्ष कामदारको अवसर उपलब्ध गराउन माग गरिएको जनाइएको छ । मन्त्री अर्यालले नेपालीलाई अदक्ष कामदारभन्दा केही सीप सिकाएर पठाउन आवश्यक भएकाले मलेसियाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

छलफलमा मलेसियाका गृहमन्त्री इजमाइलले नेपाली कामदार सबैको रोजाईमा पर्ने हुँदा उनीहरुको अधिकार र अवसरका लागि मलेसिया सरकारले कुनै कसुर बाँकी नराख्ने बताए । मन्त्री इजमाइलले अन्य देशको तुलनामा नेपालीहरु जेलमा ज्यादै कम रहेको र गैरकानूनीरुपमा रहेकाहरुलाई एक पटक कानूनी मान्यताका लागि अवसर दिएको जानकारी दिए । दुई देशबीचको श्रम सम्झौता आवश्यक गृहकार्य पश्चात तत्काल गर्न मलेसिया तयार रहेको मन्त्रीको भनाई उदृत गर्दै बैठकमा सहभागी भण्डारीले बताए ।

मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रमा कामदारको अभाव भएको भन्दै स्रोत देशबाट तुरुन्तै कामदार ल्याउने तयारी गरेको हो । त्यसमध्ये सेवा क्षेत्रअन्तर्गत पर्ने घरेलु कामदार र नेपाली सुरक्षा गार्डबारे मलेसियाको मुख्य चासो छ ।

नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि गत वैशाखमा मात्रै नेपालका तर्फबाट मन्त्रीस्तरीय भ्रमण भएको थियो । त्यो भ्रमण कूटनीतिक भेटमा मात्रै सीमित भएको थियो ।

कोभिड महामारीको समयमा रोकिएको विदेशी कामदार भर्ना प्रक्रिया मलेसियाले गत अप्रिलमा सुरु गरेको थियो । त्यसयता झन्डै दुई लाख नेपाली मलेसिया गइसकेका छन् ।

गृहमन्त्री इजमाइलको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कूटनीतिक भेट गर्ने जनाइएको छ । मलेसियाका गृहमन्त्री इजमाइलले मलेसिया भिसा सेन्टरको अवलोकन गरेका छन् । काठमाडौं उत्तरढोकामा रहेको रामप्रसाद श्रेष्ठले संचालन गरेको हेल्लो ट्राभल्स र गैह्रीधारामा रहेको एमएस काप्रीले संचालन गरेको इन्द्र ट्राभल्स एण्ड टुर्सको अवलोकन गरेका हुन् ।

मलेसियाका गृहमन्त्री इजमाइल तीनदिने भ्रमणका लागि बिहीबार साँझ काठमाडौं आइपुगेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *