बिना निष्कर्ष टुंगियो गठबन्धन बैठक, बालकोटमा एमालेसहितका चार दल छलफलमा

news-details

सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो।

नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री दाबी नछोड्दा गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो।

नयाँ सरकार गठनका लागि बसेको उक्त बैठक बिना निष्कर्ष सकिएको हो। बैठकस्थलबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एसका सम्मानित नेता झलनाथ खनाल बाहिरिसकेका छन्।

बैठक स्थलबाट बाहिरिएका प्रचण्ड एमाले अध्यक्ष ओली भेट्न बालकोट प्रस्थान गरेका छन्। साथै एमालेका दोस्रो तहका नेताहरूसँग माओवादी केन्द्रका महासचिव देव गुरुङ, वर्षमान पुनसहितका नेताहरुले छलफल गरिरहेका छन्।

नयाँ सरकार गठनका लागि चार दलले राष्ट्रपतिसमक्ष दाबी गर्ने तयारी गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ ५ बजेसम्मको समयमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्।

सत्ता गठबन्धन दल नेपाली कांग्रेसले सरकारको पहिलो कार्यकालमा दाबी नछोडेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला बालकोट पुगेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीसँग भेट गरिसकेका छन्। त्यस्तै, जसपाका नेता अशोक राई पनि बालकोटमै छन्। १२ सिट रहेको जसपा नयाँ सरकारमा सहभागी हुने नहुनेबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।

प्रतिनिधिसभामा एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४, र जसपा १२ सिट रहेका छन्। सरकार निर्माणका लागि २७५ मध्ये १३८ सिट आवश्यक पर्छ। चार दल मिल्दा १५६ सिट हुन आउँछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *