आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि कोषराज सुवेदीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । सुवेदीले पशुपति मन्दिर परिसरमा मंगलबार एक बजे आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् ।
झापाका सुवेदी विगत एक दशकदेखि राजधानीलाई कर्मथलो बनाइरहेका छन् । दुई दशकदेखि वित्तिय क्षेत्रमा लागेर सफल बनेका सुवेदीले अव राजनीतिबाट देशलाई परिवर्तन दिलाउन उम्मेदवारी घोषणा गरेको बताएका छन् । ‘आजसम्म देशले मलाई जे दियो अव त्यसको सम्मान गर्दै दिने पालो मेरो आएकोछ’ उम्मेदवारी घोषणा गर्दै सुवेदीले भने ।

‘सोचसँगै समृद्धि’ भन्ने मुल मन्त्र लिएर उम्मेदवारी घोषणा गरेका सुवेदीले समाज र राष्ट्रलाई माथि उकास्न सक्ने संकल्प र प्रतिज्ञा लिएको बताएका छन् । समाजमा रहेका शैक्षिक बेरोजगारीलाई कम गर्दै अहिले देखिएका बिकृति तथा नीतिगत भ्रष्टाचारबिरुद्ध सदनसम्म आवाज उठाउनका लागि आफ्नो उम्मेदवारी रहेको प्रतिवद्धता जनाएका छन् ।

सुवेदीले आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हरेक क्षेत्रलाई समय सापेक्ष प्रविधिमैत्री बनाएर शुन्य भ्रष्टाचार नीति ल्याइने प्रतिवद्धता जाहेर गरेका छन् ।
पछिल्लो समयमा राजनीतिक पार्टीबाट वाक्क भएर स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र जनताको मन जित्ने लहड चल्न थालेको छ ।









