तारा एयरको सम्पर्कविहिन जहाज अझै भेटिएन, मौसम खराव हुदा खोजी कार्यमा कठिनाइ
- जेष्ठ १५, २०७९
- 0
आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज अहिलेसम्म भेटिएको छैन । बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एअरको नाइन एनएईटी ट्वीनअटेर जहाज सम्पर्कविहिन भएको हो ।
केहीबेर अघि मुस्ताङको जोमसोङबाट खोजी कार्यमा उडेको फिस्टेल एअरको हेलिकोप्टर खराव मौसमका कारण दुर्घटनास्थलमा जान नसकेको र पुन: जोमसोङमा नै फर्केको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाली सेनाको हेलिकोप्टर पनि खोजी कार्यका लागि मुस्ताङको जोमसोङतर्फ जान लागेको छ ।
अहिले पनि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्र, मुस्ताङको घाँसा र लेते क्षेत्रमा बाक्लो कुहिरो लाग्नुका साथै सिमसिम पानी परिरहेको हुँदा खोजीकार्यमा समस्या भैरहेको प्रहरीले जनाएको छ ।
केहीबेर अघि जहाजको खोजीकार्यका लागि हेलिकप्टर उडिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले टेलिफोनमा जानकारी दिएका थिए ।
प्रजिअ शर्माले भने– ‘पोखराबाट जोमसोमका लागि भनेर उडान भरेको सम्पर्कविहिन जहाजको खोजीका लागि हेलिकोप्टर उडिरहेको छ ।’ सम्पर्कविहिन जहाजको खोजी गर्नका लागि मुस्ताङको आकाशमा हेलिकप्टर उडाइएको हो ।
पोखराबाट आधा घण्टाको दूरीमा पुग्न सकिने जोमसोम विमानस्थलमा जहाज पुग्नु अघि आकाशमा विष्फोटको आवाज आएको जोमसोङका स्थानीयले बताएका छन। जहाजमा चालक दलका तीन जनासहित १९ जना यात्रु सवार थिए ।