‘आगे–आगे तोपैको गोला
पिछे–पिछे मेसिन गन फरर….।’
यो गीत जब रेडियो, एफएम, टेलिभिजनमा बज्छ –म मित्र प्रदीप कुँवरलाई सम्झना गरिहाल्छु ।
२०७३ सालको वैशाखमा म कतार पुगेको थिएँ । अर्थ र रोजगार मासिकका सम्पादक उद्वव भट्टराई र म कतारका विभिन्न ठाउँ, समूह, संगठन र शुभेच्छुकहरुका कार्यक्रम र भेटघाटमा ब्यस्त भयौँ ।
भूमिराज कार्की, समीर केसी, टि.वी. कार्कीहरुको आत्मीयता र प्रेम अथाह थियो । तीर्थसंगम राई, प्रेम भट्टराई लगायत धेरै मित्रहरुको मायामा हामी चुर्लुम्मिएका थियौँ । यसै क्रममा प्रदीप कुँवरको निम्तो आयो ।
सनैया रोडबाट सम्पादक, भूमिजी, खेम भट्टराई र म पुगेथ्यौँ– प्रदीपको क्वाटरमा । मरुभूमिमा बनेको अत्यन्तै व्यवस्थित राजमार्गमा सनन्न दगुरेको कारमा हामी थियौँ । बेला–बेलामा बालुवाको मुस्लो बटारिएर आउँथ्यो । त्यसलाई छल्दै–छल्दै हामी पुगेका थियौँ समाल ।
समुन्द्र किनारको अत्यन्तै सुन्दर, शान्त र मनै आनन्दित हुने ठाउँमा प्रदीपजीको आवास थियो । बाहिर हेर्दा सामान्य पराले झुप्रो जस्तो भए पनि भित्र सबै सुविधासम्पन्न थियो छाप्रो । पाँचतारे होटलको जस्तो सेवाले भरिभराउ छाप्रो हेरेर हामी समुन्द्र किनारतिर गयौँ । जहाँ ४–५ वटा कुर्सी, टेबल सबै राखिएथे ।
‘तपाईंहरुलाई यतै स्वागत गर्छु । समुन्द्र हेर्दै साँझ कटाऊँ !’ प्रदीपजीले यसै भनेर हामीलाई आत्मियता पोखेथे ।
केही चिया, कफी त्यतै बने । धेरै खानेकुरा, बियरका केस र अरु निकै फलफूलहरु भूमिजीले नै सनैया रोडबाट लगेथे ।
साँझ परेपछि अर्को सरप्राइज भएथ्यो– सम्पादक उद्वव भट्टराईको जन्मदिनमा त्यही समुन्द्र किनारमा केक काटियो । चियर्स गरियो । शुभकामनाको अँगालो साटासाट गरियो ।
माहोल बेग्लै र आत्मीय भयो ।
नाचगान भयो । थपडी बजाई–बजाई गीत घन्काइयो ।
प्रदीपजीले क्यासेट घन्काएर समुन्द्र किनारमा हामीलाई नचाएथे । हामी पनि लहरले धोईधाई गरिएका बालुवाका किनारमा रमाई–रमाई नाचिरहेका थियौँ ।
गीत उही थियो– ‘आगे आगे तोपैको गोला
पिछे पिछे मेसिन गन फरर…।’
यो गीत पटक–पटक बज्यो । हामी पनि पटक–पटक नाच्यौँ ।
प्रदीपजी पनि बडा गज्जबले नाच्थे । उनले एक–दुई पटक हाम्रा नाचका भावभंगिमा मिलेनन् भनेर सिकाए । हामीले पनि हाम्रा स्टेपहरु सच्यायौँ ।
थरी–थरीका नाच नाचिए । गीतहरु गाइए । अत्यन्तै रमाइलो भएथ्यो त्यो साँझ ।
‘म त छुट्टी मनाउन बाली गइरहन्छु ।’
उनी यात्राका सौखिन थिए । प्रदीपले मसँग कुरा अरु थपेथे– ‘खास हिन्दु संस्कृति र परम्परा इन्डोनेसियाको बालीमा बाँचेको छ । तपाई पनि एकपटक पुग्नुस् है ।’
प्रदीपजीले त्यहाँको पर्यटन, आतिथ्यता, नियम र जीवनशैलीको बारे बताएथे । उनी नियमित शारीरिक व्यायाम गर्थे । बलिया ज्यान र आनीबानीका उनी निकै कोमल मनका थिए ।
कविता, गीत सुन्ने उनको बानी रहेछ । साहित्यका निकै पुस्तक पढेको प्रदीपले मलाई बताएथे ।
समुन्द्र किनारमा रहेको कतार फाउन्डेसनको मोती उत्पादन विभागमा उनी कार्यरत थिए । प्र्रदीपले मलाई मोती उत्पादन के कसरी हुन्छ भनेर अत्यन्तै बिस्तारपूर्वक बताउने र देखाउने काम गरेका थिए ।
समुन्द्रभित्र एकखालको सिपीलाई पाल्ने गरिँदो रहेछ । जालीभित्र थुनिएका ती सिपी बिस्तारै बढ्ने रहेछन् । त्यसको अध्ययन र जीव बिस्तारबारे बाहिरैबाट अनुगमन हुने रहेछ ।
निश्चित समय भएपछि सिपीहरु बाहिर ल्याएर त्यसभित्रको मोतीको दाना झिकिने र बेचिने रहेछ ।
साथै अन्य प्रशोधनका निकै प्रकृयाहरु मैले त्यहीँ देख्ने मौका पाएँ । मोतीबारे थाहा पाएको नयाँ ज्ञानले मलाई रोमाञ्चित पारेथ्यो त्यो साँझमा ।
बेलुकी अबेरसम्मै रमाइलो भयो । नाचगानसँगै प्रदीपजीसँग निकै कुराकानी भएथे ।
‘कतारमा धेरैजना नेपाली आउने गरेका छन् । धेरैको कमाइ पनि राम्रो छ । कतारले धेरै नेपालीको जीवनमा उज्यालो ल्याएको छ । धेरैले यहाँ कमाएको धनले आफ्नो जीवनस्तर निकै माथि लगेका छन् ।’
‘नेपालमा बसेका भए यी श्रमिकले नारा–जुलुस गरेर दिन काट्थे । यता आएर आफ्नो खल्ती भरे । परिवारको भोक मारे । थोत्रो देशप्रेम राजनीतिमा सुहाउँछ । व्यवहारमा त्यो काम लाग्दैन ।’ प्रदीपले भनेका थिए ।
उनी घरी–घरी आफ्नो क्वाटरतर्फ जान्थे । चिसो आइस बक्स ल्याउँथे । हामी बरफका डल्ला हाली–हाली तातो बियर चिस्याएर खान्थ्यौँ । अत्यन्तै रमाइलो भएको थियो ।
नेपालको विकास नभएकोमा निकै खिन्न थिए प्रदीप । ‘देशको राजनीति मात्र खराब हो । अरु त यति सुन्दर मूलुक कतै छैन ।’ उनले भनेको पनि म अहिले सम्झिरहेको छु ।
आफ्नो क्वाटरबाट उनले अनेक खालका मसला, खजुर र सुकेका फलफूल ल्याएर हामीलाई चखाएका थिए ।
‘तपाईं त नेपाल धेरै घुम्नु भयो । तपाईसँग एभरेष्ट बेसकेम्प जाने योजना बनाउँदै छु । म यता मिलाउँछु तपाई उता छुट्टी मिलाइराख्नुस् है ।’ प्रदीपको घुमन्ते इच्छा निकै तीब्र रुपमा देखिएथ्यो ।
हामी केहीअघि मात्रै फेसबुकमा जोडिएका थियौैँ । मेरा घुमघामका तस्वीरले उनलाई निकै छोएका रहेछन् ।
‘अन्त नभए पनि सगरमाथासम्म त एकपटक घुम्ने इच्छा छ ।’ उनले मेरो लुक्लामा बसेर तातो चिया खाएको फोटोको प्रसंग जोडेर भनेका थिए ।
परिवार, नानीहरु चितवनमा रहेका उनले बताएथे । मूलतः आफू बागलुङकै भएको बताउनमा गर्व छ भन्थे– प्रदीप ।
प्रदीपजीको क्वाटरमा अरु धेरै परिकार पाकिरहेका थिए । ती समुन्द्र किनारका हाम्रा कुर्सीमा पटक–पटक आइपुग्थे । हामी हाँसो, ठट्टा, नाच, गीत र छलफलसँगै आनन्दित थियौँ ।
समुन्द्रपारि इरान अनि बहराइन थियो । प्रदीपले औल्याई–औल्याई उडेका जहाज देखाएर साउदी अरब, बहराइन, इरान र कतारका अन्य छिमेकी देश देखाएथे । समुन्द्रमा निकै ठूलो आवाज निकालेर गइरहेका पानी जहाजका गतिविधि पनि हामीले देख्न पाएथ्यौँ । प्रदीपजीले भारत व्यापार गर्न जाने थुप्रै कतारका नागरिकहरु बारे बताएथे ।
‘तपाईले निकै चाख लिनुभयो । मेरो एकजना साथीको बाबुले भारतबाट बिहे गरेर ल्याएकी श्रीमती छ भनेको थियो । धेरै कतारीहरु माछा बेच्न, मोती बेच्न त्यो बेला भारत जान्थे डुंगामा । खजुरका भारीले टन्न भरिएका काठे डुंगा चलाउने कतारीहरु दोहातिर अझै पनि छन् नि ।’ प्रदीपजीले भनेका थिए ।
मैले उनको खुल्ला र उदार स्वभाव निकै जान्ने मौका पाएको थिएँ ।
‘नेपाल गएर बेला–बेलामा शिक्षामा पछाडि परेको समुदायलाई सहयोग गर्ने गरेको छु, धेरै पैसा नभए पनि अरुले पनि सेवा गरुन् भनेर मैले गरेको हुँ, ससानो आर्थिक सहयोग ।’ प्रदीपजीले भनेको कुरा मेरो मनमा गढेको थियो ।
छुट्टिने बेलामा मैले सोधेको थिएँ– ‘एक्लै बस्नु हुँदो रहेछ । परिवारको याद आउँदा के गर्नु हुन्छ ?’
‘अरुहरु दोहातिर अनेक कार्यक्रमहरु गर्छन् । म त सुटुक्क शुक्रबार काठमाडौं उड्छु । शनिवार छोरीहरु सिमोन र प्रयुुुसासँग खेल्छु । अनि श्रीमती लक्ष्मीको हातको खाना ताततातो खान भ्याउँछु । त्यस लगत्तै आइतवार फेरि कतार आइपुग्छु ।’
‘पाँच–छ घण्टा पर त हो काठमाडौँ । मलाई धेरै फरकै पर्दैन ।’ उनका कुराले निकै मन छोएको थियो ।
रात निकै छिप्पिएपछि हाम्रो टोली दोहा फर्केको थियो । अनि ओक्रा पुगेर बचेको बर्थडे पार्टी सम्पन्न गरेका थियौँ ।
करिब एक महिनाको बसाइपछि म काठमाडौं फर्किएँ । प्रदीपजीसँग फेसबुकमा सामान्य कुराकानी भइरह्यो । उनी नेपाल आएर हिमाल घुम्ने र रमाइलो गर्ने योजना सुनाइरहन्थे मलाई । तर योजना सार्थक भइरहेको थिएन ।
गएको माघ २५ गते एक्कासि उनको सडक दुर्घटनामा निधन भएको खबरले स्तब्ध भयौँ हामी अर्थ र रोजगार प्रकाशनको परिवार । म त निकै दुखित र शून्य भएँ ।
प्रदीपजी साइकल चलाएर बिहानै घरबाट बाहिरिएका रहेछन् कतारमा त्यसदिन । कुहिरो लागेको हुनाले वरपर सबै अँध्यारो रहेछ त्यो बिहान । एउटा तीब्र गतिमा आएको ल्यान्डक्रुसरले ठक्कर दिँदा साइकलमा यात्रारत प्रदीपजीको दुःखद निधन हुन पुगेको रहेछ ।
कतारमा गफ हुँदा उनले भनेथे– ‘धेरै जना लेखकहरु यता घुमेर मेरो नाम जोडेर लेख्छन् । प्लिज मेरो नाम नजोड्नु होला हैं ।’
ती सहयोगी, सरल, हार्दिक मित्र प्रदीप कँुवरको व्यवहार सम्झेर म अहिले निकै दुःखी छु । प्रदीपजी, नाम लिनैपर्ने भो यो पीडाको क्षणमा तपाईंको !
हार्दिक श्रद्धा सुमन मित्र प्रदीपमा । परिवारले र नेपाली समुदायले एक आत्मीय सदस्य गुमाएकोे छ । प्रदीपजी, हार्दिक शब्द श्रद्धाञ्जली !








