हिउँद नवित्दै शतप्रतिशत वर्षा, गतवर्षको तुलनामा चारसय प्रतिशत बढी
- माघ २२, २०७८
- 0
यस वर्ष माघ महिना नवित्दै सतप्रतिशत हिउँदे वर्षा भई सकेको छ । मौसम पूर्वानुमान महाशाखाको तथ्याङक अनुसार माघ नवित्दै ५७.१ मिलिमिटर हिउँदे वर्षा भई सकेको छ, यो औसत हिउँदे वर्षाको ९९.७ प्रतिशत हो ।
महाशाखाले डिसेम्बरदेखि फेब्रअरीसम्मलाई हिउँद मौसम मानेर औसतमा ६०.९ मिलिमिटर वर्षा हुने जनाएको छ । तर यस वर्ष भने समय अझै वाँकी छदाँनै शतप्रतिशत वर्षा भएको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिइन । उनका अनुसार यो वर्ष र्हिउँदमा अघिल्लो वर्षको तुलनामा चार सय प्रतिशतले वढी वर्षा भएको हो । गत वर्ष हिउँदमा १५.४ मिलिमिटर वर्षा भएको थियो । यसवर्ष भने अझै हिउँद मौसम बाँकी नै रहेको छ । तर अघिल्लो वर्षको तुलनामा यस वर्ष पाँच सय प्रतिशत बढी वर्षा हुने आँकलन गरिएको प्रमुख कँडेलले बताइन ।
गत वर्ष भन्दा यसवर्ष धेरै वर्षा भएपनि यो नौलो विषय भने नभएको महाशाखाले जनाएको छ । महाशाखाको तथ्याङक अनुसार तर २०६४ देखि पछाडि २०७५ र २०७६ सालमा धेरै हिउँदे वर्षा भएको थियो । २०७५ सालमा १०५ मिलिमिटर र २०७६ सालमा १४२.५ मिलिमिटर वर्षा भएको थियो ।
पश्चिमी न्यून चापीय प्रणालीको शक्तिशाली प्रभावका कारण शुक्रवार विहानैदेखि देशभर वर्षा भएको थियो । महाशाखाका बरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मौसम आइतबारदेखि सफा हुँदै जाने छ । महाशाखाले २२० वटा वर्षा मापन केन्द्रवाट दैनिक रुपमा वर्षाको मापन गर्दै आएको छ । यस अनुसार शुक्रबार २०५ वटा केन्द्रमा वर्षा भएको थियो भने वाँकी १५ वटामा वर्षा हुन सकेन । यी मध्ये तीन वटा केन्द्रमा ५० मिलिमिटर भन्दा वढी, ५५ वटा केन्द्रमा २५ मिलिमिटर भन्दा वढी र १४९ वटा केन्द्रमा १० मिलिमिटर भन्दा वढी वर्षा भएको थियो ।