सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता टीकाबहादुर कुँवरसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नागरिकलाई सिटामोल लगायतका अत्यावश्यक औषधि उपलव्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
इजलासले सिटामोलको अभाव हुनुमा कारण देखाउनसमेत विपक्षीहरूलाई आदेश दिएको छ ।
देशभर सिटामोलको हाहाकार भइरहेको भन्दै रिट दायर गरिएको थियो । कोरोना संक्रमणको समयमा उपचारमा आवश्यक पर्ने सिटामोललगायतका औषधिको सहज उपलव्धता मिलाउन आदेशमा भनिएको छ।








