मानवीय संकटमा रहेको अफगानिस्तानका जनताका लागि नेपालले औषधि, लत्ताकपडा, घरयासी सरसामान लगायतका १४ टन सामग्री अफगानिस्तान पठाएको छ ।

परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालसहितको नेपाली टोली हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित काबुल प्रस्थान गरेको हो ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए।

नेपालको इतिहासमा पहिलोपटक हवाईजहाजमार्फत मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाउन लागेको जानकारी दिंदै मन्त्री खड्काले अफगानी जनताका लागि अन्तर्राष्ट्रिय सहयोग यतिबेला ठप्प भएको अवस्थामा नेपालले मानवीय सहयोग पुर्‍याउनुपर्छ भनेर विशेष जहाजबाट आज सामग्री पठाएको बताए ।

सरकारलाई कुनै व्ययभार नपारी निजी क्षेत्रकै सहयोगबाट इतिहासमै पहिलोपटक यस्तो सहयोग गरिएको मन्त्री खडकाले बताए । उनले यस कार्यमा हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको पनि बताए ।

प्राकृतिक प्रकोपमा नेपाल परेका बेला विभिन्न देशबाट सहयोग लिएको स्मरण गर्दै उनले नेपालले पनि परेका बेला सहयोग गर्न सक्ने बताए।  ‘हामी सहयोग लिन मात्र होइन परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्ने सामर्थ राख्छौ भन्ने पनि देखाउनु छ,’ उनले भने, ‘यो प्रयासबाट नेपालको छवि र प्रतिष्ठा अन्तर्राष्ट्रिय समुदायमा बढ्छ भन्ने विश्वास छ।’

जहाज काबुलमा अवतरण गरेपछि त्यहाँ संयुक्त राष्ट्रसंघको गाडी आउने र उक्त गाडीबाट सामग्री लगेर हस्तान्तरण गरिने मन्त्री खड्काले बताए।

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता रोकिएको छ। चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन्।