अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी मल किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

मल खरिदमा भ्रष्टाचार भएको भन्दै एक अर्बभन्दा बढी बिगो मागसहित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

कृषि सामग्री लिमिटेडका तत्कालिन पदाधिकारीविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ । आपूर्तिकर्तालाई निकासा भएको रकम बराबर बिगो माग भएको हो ।

अख्तियारले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढा विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

त्यसैगरी आयात गरेको मल गुणस्तरीय रहेको प्रतिवेदन दिने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रवन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी, कम्पनीकातर्फबाट सम्झौता गर्ने मनोज आचार्य र मल आयात गर्ने जोशी बिज हाउस प्रालिका विनित जोशीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।