त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरू भएको छ।
शुक्रबार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिविलिटी नपुगेर बन्द भएको विमानस्थल केहीबेर अघि खुलेको हो।
विमानस्थल स्रोतका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ।
यसअघि बिहानै आएका चारवटा जहाजलाई भने डाइभर्ट गरिएको थियो । सिमराको आकाशमा तीन घण्टासम्म फन्को लगाउँदासमेत अवतरण गर्न नसकेपछि ती जहाजलाई अन्यत्रै डाइभर्ट गरिएको हो।
तीन वटा जहाजलाई ढाका र अर्को जहाजलाई कोलकातामा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि उडान र अवतरण प्रभावित भएको थियो।
यस्तै आन्तरिक तर्फको उडान पनि क्रमशः खुलेको छ। विमानस्थल खुलेसँगै आन्तरिक सेवा प्रदायकहरूले उडानको तयारी गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ।








