रौतहटमा जन्ती बोकेको भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

गौर नगरपालिकाबाट गरुडा जाँदै गरेको डि आर ०५ पि ए ६९५३ नम्बरको स्कारपियो गरुडा नगरपालिका–१ स्थित जयनगर सडक खण्डमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लका अनुसार घटना बेलुकी करिब सवा चार बजेको हो । दुर्घटनाग्रस्त जिप अनियन्त्रित भई सडकबाट झण्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते ९ जनामध्ये पाँच जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चार जनाको उपचार भइरहेको मल्लले जानकारी दिए।

दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको अहिलेसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबै भारतीय पुरुष नागरिक रहेको मल्लले बताए।