जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनीलगायत घटना बढेकाले सर्वसाधारणको सुरक्षा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व ईश्वरपुर नगरपालिका ४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर नगरपालिका ८ रामपुर टोलसम्म, उत्तरमा वडा नं. ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।









