इसाई धर्मको प्रवर्तकका रूपमा चिनिने येशु ख्रीष्टको जन्मदिनको अवसरमा आज ‘क्रिसमस–डे’ मनाइँदै छ ।
इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेका छन ।
जिसस क्राइस्ट वा येशु वा ईशा मसिहको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरूले हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक र सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी क्रिसमस–डे मनाउँदै आएका छन् ।
सारा मानव जातिका मुक्तिदाताको रूपमा तथा सबै मानवलाई परमेश्वर पितासँग मिलाप गराएका मुक्तिदाता, उद्धारकर्ता तथा शान्तिदाताका रुपमा इसाई धर्मावलम्बीहरूले येशु ख्रीष्टलाई विश्वास गर्दै आएका छन् । उनैको जन्मदिनको रूपमा ‘क्रिसमस–डे’ मनाइँदै आएको छ ।
नेपालमा इसाईबाहेकका धर्मावलम्बीहरूले पनि क्रिसमस–डेलाई विशेष महत्व दिने गरेका छन् । आज शनिबार परे पनि सरकारले यो दिवसलाई लक्षित गरी सार्वजनिक विदा दिने निर्णय समेत गरेका छ ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ ।
गत वर्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो। यस वर्ष भने पर्यटक आउने क्रम शुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।








