नेकपा (एमाले) नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको भन्दै आपत्ति जनाएका छन ।

शनिबार ट्वीट गर्दै नेता रावलले आफूलाई नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक रहेको बताएका हुन । उनले यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यता विपरीत रहेको उल्लेख गरेका छन ।

‘मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ’, रावलले ट्वीटमा भनेका छन, ‘यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

एमाले अध्यक्षमा पराजित भएपछि रावलले केन्द्रीय सदस्य बन्न अस्वीकार गरेका थिए । चितवनमा सम्पन्न एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका रावल केपी ओलीसँग भारी मत अन्तरले पराजित भएका थिए ।