नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ ।
जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
नयाँ नेतृत्व छान्नका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुनेछ। कांग्रेसका ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मत खसालीसकेपछि मत गणना सुरू हुनेछ।
सुरूमा सभापतिको मतगणना हुनेछ। सभापतिमा दुईभन्दा बढी उम्मदेवार हुँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मदवारबीच फेरि चुनाव हुने कांग्रेस विधानको व्यवस्था छ।
सभापतिको टुंगो लागेपछि अरू पदका लागि मतगणना सुरू हुनेछ।
मतगणना सकिन कम्तीमा १० दिन लाग्न सक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
कांग्रेसका पदाधिकारी र विभिन्न समूहका केन्द्रीय सदस्यमा ४९१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।








