कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँने भएका छन ।
आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले विश्वासका मतका लागि शाहीले प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको जानकारी दिए ।
नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनमा शाहीको नेतृत्वमा सरकार बनेको हो । कर्णाली प्रदेशसभामा ३५ जना प्रदेशसभा सदस्य रहेका छन् । त्यस मध्य एमालेका १३, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका छ र समाजवादीका तीन जना प्रदेश सभा सदस्य रहेका छन् । राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् । मुख्यमन्त्री शाहीलाई २१ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
आजको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने उपस्थित नहुने भएको छ । एमाले महाधिवेशनमा सहभागि हुन प्रदेशसभा सदस्यहरु चितवन गएकाले बैठकमा सहभागि हुन नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंगश शाहले जानकारी दिए ।








