नेपाली कांग्रेसको प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको निर्वाचन कार्यतालिकामा सामान्य हेरफेर भएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले निर्धारित मितिमै प्रदेश र केन्द्रीय महाधिवेशन सुरु गर्ने निर्णय गर्दै निर्वाचन कार्यतालिकामा भने केहि हेरफेर गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार प्रदेश अधिवेशन तोकिएकै मिति मङ्सिर १६ र १७ गते नै हुनेछ । जस अनुसार मङ्सिर १६ गते उदघाटन कार्यक्रम हुने र यसअघि मंसिर १५ गते तय भएको मनोनयन दर्ताको कार्यक्रम भने मंसिर १७ गतेका लागि सारिएको शर्माले बताए ।
यस्तै केन्द्रीय महाधिवेशनमा पनि अन्य कार्यतालिका प्रभावित नहुने गरी मंसिर २१ गते तय गरिएको मनोनयन दर्ता मंशिर २५ गते तय गरिएको छ ।
अब केन्द्रीय महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन, २२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक, मंसिर २४ गते महाधिवेशन उद्घाटन, मंसिर २५ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको शर्माले बताए ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।








