आज देशभरको मौसमी बदली भएको छ । मुलुकका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ भने केही भूभागमा वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय प्रभावका कारण हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान बनेको हो ।

मौसम बदलीसगै देशका अधिकांश भूभागहरुमा चिसोको मात्रा बढ्ने र तुँवालोले गर्दा वायुको गुणस्तर समेत खस्किने बताइएको छ । आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिकदेखि सामान्य बदली रहने छ ।

साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।