प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन ।

बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधामन्त्री देउवाले कोरोना महामारीको खतरनाक रूप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा दुखेसो गरे ।

प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यावसायिक र समृद्ध बनाउने कार्यमा लाग्न सरकार तयार रहेको बताए । उनले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमहरू खोजमुलक र सत्यतथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको समेत बताए ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा कञ्चनजंगा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्किने क्रममा तत्कालीन वन तथा भू संरक्षण मन्त्री गोपाल राईसहित २४ जनाको बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । जसमा नेपाल टेलिभिजनका पत्रकारद्वय हेम र सुनिलको निधन भएको थियो ।

त्यसयता हरेक वर्ष नेपाल टेलिभिजनले आजकै दिन हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु जिल्ला संवाददाता वासुदेव बर्माले पाएका छन ।

बर्माको समाचारलाई यो वर्षको जोखिमपूर्ण समाचार मान्दै टेलिभिजनले पुरस्कृत गरेको छ । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारप्राप्त गर्नुभएको बर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गरे ।