सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

सभामुख सापकोटाले संसदमा जारी गतिरोध अन्त्यका लागि राजनीतिक दलको संसदीय दलका नेताहरुलाई छलफलका लागि आव्हान गरिएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट कसैको पनि सहभागिता रहेन ।

आजको बसेको सर्वदलीय बैठकमा दलका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि छलफलमा सहभागी गराउँदै अघि बढाउनुपर्ने सुझाव सभामुख अग्निप्रसाद सापकोटालाई दिएको जनाइएको छ । सभामुख सापकोटाले एमालेसहित पुनः अर्को सर्वदलीय बैठक बस्न सक्ने प्रतिक्रिया छलफलमा सहभागी नेताहरुले दिएका छन ।

सभामुखद्वारा आव्हान गरिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल लगायतका शीर्ष नताहरुको उपस्थिति रहेको थियो ।