नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।

एमसीसीकी उपाध्यक्ष सुमारसहितको टोली शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेको थियो ।

करिब एक घण्टाको भेटवार्तामा सुमारले एमसीसी पास गराउने वातावरण बनाउन आग्रह गरेको बुझिएको छ । भेटमा एमसीसीका विषयमा थप बहस आवश्यक रहेकाे जनाएका छन् । उनले यस विषयमा सबैकाे सहमति आवश्यक रहेकाे जनाए ।

भेटमा अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएको उनको सचिवालयले जनाएको छ ।

आजै सुमारसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ भने बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता भएको थियो ।