बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन ।
मुख्यमन्त्री शाक्यले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै ६ मन्त्री र ४ राज्यमन्त्री थप गरेकी हुन । योसँगै बागमती प्रदेशमा १२ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।
मुख्यमन्त्रीको शाक्यको शिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई नियुक्त गरी सपथ ग्रहण गराएका छन ।
नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्का (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदी (सामाजिक विकास मन्त्रालय), प्रदीपकुमार कटुवाल (स्वास्थ्य), शान्तिप्रसाद पौडेल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।
यस्तै नवनियुक्त राज्यमन्त्री हरुमा जुनेलीमाया श्रेष्ठ (स्वास्थ्य मन्त्रालय), जीवन खड्का (भौतिक पूर्वाधार तथा विकास मन्त्रालय), सरस्वती वाटी (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय) र बद्री मैनाली (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।
भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी शाक्यको मन्त्रिमण्डलबाट सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले राजीनामा दिएका थिए भने केशवराज पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका थिए ।








