सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका छन ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उनीहरुले मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन । पदबाट राजीनामा दिदै एमाले संसदीय दलका नेतासमेत रहेका शाहले लोकतन्त्र बलियो बनाउनका लागि पार्टी रोज्दै पदबाट राजीनामा दिएको प्रतिक्रिया दिए ।
दल विभाजनपछि दुवै जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) मै रहेका छन । सो पार्टी परित्याग गरेर १४ जना प्रदेशसभा सदस्यहरुले नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेपछि सुदूरपश्चिम प्रदेश सभामा एमाले चौथो दलमा झरेको छ । एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको सङ्ख्या सभामुखसहित ११ रहेको छ ।
नेकपा एमालेले यसअघि नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।








