नवगठित नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय, प्रदेश इन्चार्ज, उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज तोकेको छ ।

राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको नेकपा एकीकृत समाजवादीले जानकारी दिएको छ ।

जस अनुसार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, बरिष्ठ नेता झलनाथ खनालसहित मुकुन्द न्यौपाने, डा बेदुराम भुसाल र प्रमेश हमाल संलग्न स्थायी कमिटी गठन गरिएको छ भने पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा गंगालाल तुलाधर, डा विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ । केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।

यस्तै प्रदेश इन्चार्जहरुमा घनेन्द्र बस्नेतलाई प्रदेश १, धर्मनाथ साहलाई प्रदेश २, केदार न्यौपानेलाई बागमती, केशवलाल श्रेष्ठलाई गण्डकी, भागवत विश्वासीलाई लुम्बिनी र प्रकाश ज्वालालाई कर्णली प्रदेशको इन्चार्ज तोकिएको छ भने सुदुरपश्चिमको इन्चार्ज भने तोक्न बाँकी रहेको बताइएको छ ।

साथै उक्त पार्टीले उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इन्चार्ज डा विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साहलाई जिम्मेवारी तोकेको छ ।

यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।

नेकपा एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज, नेताहरुको जिम्मेवारी यसरी बाँडफाँट
नेकपा एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज, नेताहरुको जिम्मेवारी यसरी बाँडफाँट