नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका छन ।

कांग्रेसको १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन निर्देशिकाले दलित समुदायलाई निषेध गर्न खोजेको भन्दै नेता विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै राजिनामा दिएको घोषणा गरेका हुन ।

निर्देशिकाले आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलित प्रतिनिधित्वलाई निषेध गर्न खोजेको आरोप विश्वकर्माले लगाएका छन ।

षडयन्त्रमूलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी निर्वाचन निर्देशिका लागू गरिए दलित संघलाई मान्य नहुने चेतावनी पनि उनले दिएका छन ।

पार्टीमा यसअघि नै लागू भइसकेको समावेशी सिद्धान्तकै खिल्ली उडाउने खालको नीति लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपमा नमिल्ने भन्दै दुबै पदबाट राजीनामा दिएको विश्वकर्माले उल्लेख गरेका छन ।

कांग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्माले गरे राजीनामाको घोषणा