दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन आज गृह मन्त्रालयमा बुझाएको छ ।
पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको भनेर आलोचना खेपेको समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । उनले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन समेत दिए ।
प्रतिवेदनमा घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थितमा घटेको देखिएको उल्लेख छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले समितिले एसएसबीको उपस्थितिमा घटना घटेको प्रतिवेदनमा जनाएको बताए। उनीहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कारबाही गर्न सिफारिस गरिएको उनले बताए।
साथै, तुइन प्रकरणमा बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति, राहत दिन भारतीय पक्षसँग कूटनीतिक माध्यमद्वारा पहल गर्न समितिले सिफारिस गरेको उनले बताए।
उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरेको थियो ।
गत साउन १७ गते गठित उक्त समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो । छानबिन नसकिएकाले मन्त्रालयले समितिको म्याद तीनपटक थप गरेको थियो । यसअघि गएको साउन २५ तथा भदौ १ र ८ गते समितिको म्याद थप गरिएको थियो ।
साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी नदीमा बेपत्ता भएका थिए । गृहमन्त्रालयले विज्ञप्ति जारी गरी भारतीय पक्षसँग कुटनीतिक प्रयास थाल्न र परीवारलाइ राहत उपलब्ध गराउन सिफारिस गरेको उल्लेख गरेको छ ।









