नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका १२ सांसदले माधव नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई रोजेका छन । मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर उनीहरुले नेकपा एकीकृत समाजवादीलाई साथ दिने भन्दै सनाखत गरेका हुन् ।

एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)तिर जाने सांसदहरुमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल रकृष्ण खनाल रहेका छन ।

उनीहरुसँगै अझैँ पनि केही सांसदहरु एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा आउन लागेको बताइएको छ ।

माधव नेपाल निकट मानिएकी अष्टलक्ष्मी शाक्य नयाँ पार्टी गठन हुँदा नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएकी थिइन् र लगत्तै प्रदेशको मुख्यमन्त्री पनि बनेकी थिइन् ।

बागमती प्रदेशमा बुहमत रहेको एमालेमध्ये नेपाल समूहका सांसदहरुले एमाले छाडेर नयाँ दलमा आएसँगै मुख्मन्त्री शाक्यको पद अल्पमतमा परेको छ ।

१०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदको संख्या ४४ मा झरेको छ । प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।