प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्।

बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन्।

आचार्यलाई हालका मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको हो। आचार्य दलको नेता चयन भएपछि राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ मुख्यमन्त्रीबाट आजै राजीनामा बुझाएका छन्।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसदसहित प्रष्ट बहुमत भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८(१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन । मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ।

प्रदेश संसदमा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १-१ जना सांसद छन् । यसअघि माओवादी केन्द्र संसदीय दलका नेता टंक आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि उनी कारबाहीमा परेका छन् । एमालेका ५१ सांसदमध्ये १५ जना समाजवादीमा रहेको दाबी सो पक्षले गरिरहेको छ ।