नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भएको छ ।

शनिबारदेखि काठमाडौँको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पुस ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरिएको छ । दाहालको प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।

प्रतिवेदनमा भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने, असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला गर्ने प्रस्ताव गरिएको छ ।

माओवादी केन्द्रमा असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन, मङ्सिर १५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ सम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ ।

समूहगत छलफलपछि आइतबार केन्द्रीय कमिटीले अन्तिम निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

चुनावसम्म गठबन्धन कायमै राखिने

प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमा अहिलेको सत्तारुढ गठबन्धनलाई आगामी चुनावसम्म कायमै राख्ने पार्टीको नीति रहने उल्लेख छ । प्रस्तावमा भनिएको छ–

‘केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ । यसलाई नरुचाउने शक्तिहरू गठबन्धनलाई कमजोर पार्न र भत्काउन लागिपरेका छन् । अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तिमा कायम राख्ने पार्टीको नीति हुनेछ ।’