नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलको बैठक बुधवार विहान मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवास बुटवलमा सुरू भएको छ ।
लुम्विनी प्रदेशका विपक्षी गठवन्धनले सरकारविरुद्ध संसदमा दर्ता गरेको अविश्वास प्रस्तावको सामना गर्ने वा अरु कुनै विकल्पको प्रयोग गर्ने लगायतका विषयमा रणनीति बनाउन दलको बैठकमा सुरू भएको हो ।
संसदमा विपक्षी गठवन्धन नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका गरी ४१ सांसद रहेका छन ।
उता नेकपा एमालेमा मात्रै ३८ सांसद छन । प्रदेश सभामा विपक्षी गठवन्धनको बहुमत देखिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्तावको सामना नगरी राजीनामा दिने संभावना रहेको श्रोतले बताएको छ ।
प्रदेश सभाको बैठक बुधवार दिउँसो १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने र आजै मतदान प्रकृयामार्फत सरकार हटाउने रणनीति विपक्षी गठवन्धनको छ ।
यता मंगलबार अवेर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जसपा सांसद सन्तोष कुमार पाण्डेले समेत मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेललाई थप अप्ठेरो परेको बुझिएको छ ।








